arrow

हात्तीवन-चम्पादेवी पदमार्गमा बढ्दै पर्यटकको आकर्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
hattiban-champadevi-padmarga.jpg

काठमाडौँ। काठमाडौँ उपत्यकाको नजिकै रहेको हात्तीवन-चम्पादेवी पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

उपत्यकाको कोलाहलबाट टाढा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि दक्षिणकालीको हात्तीवनदेखि कीर्तिपुरस्थित चम्पादेवीसम्मको पदयात्रा लोकप्रिय बन्दै गएको हो ।

नयाँ बसपार्कबाट करिब १० किलोमिटर दूरीमा रहेको हात्तीवनको फेदीबाट शुरू हुने यो पदमार्ग तीनदेखि चार घण्टाको पैदलयात्रापछि समुद्री सतहबाट दुई सय २८५ मिटर उचाइमा रहेको चम्पादेवीडाँडामा पुगिन्छ । पदयात्रा, वनभोज तथा मनोरञ्जनका लागि यो क्षेत्र उपयुक्त मानिन्छ ।

पदयात्रीहरूले यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न पाउनुका साथै घना जंगल, जैविक विविधता, लालिगुँरास, काफल र चराचुरुङ्गीको आवाजले यात्रालाई अझ रमाइलो बनाउने अनुभव सुनाउने गरेका छन् ।

चम्पादेवी पुग्न हात्तीवनसँगै बोसन गाउँ, फर्पिङ, मच्छेगाउँ र चन्द्रागिरिबाट पनि वैकल्पिक मार्गहरू उपलब्ध छन् । पछिल्लो समय यहाँ जाने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको स्थानीयको भनाइ छ । सामान्य दिनमा दैनिक दुई-तीन सय पदयात्री पुग्ने गरे पनि बिदा र शनिबार हजारौँको सङ्ख्यामा पुग्ने गरेका छन् ।

विसं २०६६ मा शुरू भएको यो पदमार्ग अहिले स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको छ ।

नेपाल सरकारको पर्यटन पूर्वाधार विकास आयोजनाबाट करिब रु. तीन करोड लागतमा निर्माण शुरू गरिएको यो उपत्यकाकै पहिलो व्यवस्थित पदमार्ग हो ।

चम्पादेवी क्षेत्रमा धार्मिक महत्वसमेत रहेको छ । यहाँ मङ्सिर पूर्णिमा र नयाँ वर्षमा विशेष मेला लाग्ने गर्दछ । भूकम्पपछि क्षतिग्रस्त चम्पादेवी मन्दिर र आसपासको क्षेत्रको पुनःनिर्माण पुरातत्व विभागले करिब रु. २८ लाख खर्चमा सम्पन्न गरेको छ ।

यस क्षेत्रको पहुँच अझ सहज बनाउन बोसन गाउँदेखि चम्पादेवीसम्म केबुलकार निर्माण गर्ने योजना पनि अघि बढाइएको छ।

करिब रु. ५ अर्ब लगानीमा निर्माण हुने प्रस्तावित दुई किलोमिटर लामो केबुलकारमा १२ टावर र ३४ ओटा गोण्डुला रहनेछन् । निर्माण सम्पन्न भएपछि बोसनबाट चम्पादेवी पुग्न करिब सात मिनेटमात्र लाग्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ