arrow

अदालतमा विचाराधीन विषयमा निराधार टिप्पणी नगर्न आयोगको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३ मंगलबार
election-commision-09-13.jpg

काठमाडौँ । निर्वाचन आयोगले एक टेलिभिजन कार्यक्रममा आयोग र कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको गरिमामा आँच आउने गरी गरिएको टिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले एक टेलिभिजनको कार्यक्रममा राजनीतिक दलका जिम्मेवार व्यक्तिबाट व्यक्त गरिएका विचारहरूप्रति कडा आपत्ति प्रकट गरेको हो।

आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद भट्टराईका अनुसार आयोगले गर्ने हरेक निर्णय नेपालको संविधान, प्रचलित कानुन र राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिधिभित्र रहेर गरिँदै आएको छ।

विशेष गरी नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको विवरण अद्यावधिक गर्ने सन्दर्भमा भएको निर्णय पनि पूर्णतः कानुनी आधारमै गरिएको आयोगले स्पष्ट पारेको छ। उक्त निर्णयलाई सञ्चार माध्यममा गलत ढङ्गले व्याख्या गरिनु विधिसम्मत नभएको विज्ञप्तिमा उल्लेख छ।

आयोगले संवैधानिक निकायको निर्णयमा चित्त नबुझे असन्तुष्ट पक्षलाई कानुनी उपचार खोज्ने अधिकार रहेको र हाल यो विषय सर्वोच्च अदालतमा परीक्षणको क्रममा रहेको समेत स्मरण गराएको छ।

अदालतमा विचाराधीन मुद्दा र संवैधानिक निकायको कामकारबाहीबारे निराधार र कपोलकल्पित भ्रम फैलाउने काम नगर्न सम्बन्धित सबै पक्षलाई सचेत गराइएको छ। साथै, यस्ता भ्रमपूर्ण समाचार र टिप्पणीको विश्वास नगर्न आयोगले सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ