arrow

ग्यास लुकाउने डिलरलाई ५० हजार जरिबाना

एउटा सिलिन्डरबाट अर्कोमा ग्यास सार्दै गरेको अवस्थामा रंगेहात फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
gas-dipo-pokhara.jpg

पोखरा। एलपी ग्यास लुकाएर कृत्रिम अभाव सिर्जना गरेको आरोपमा पोखराको भण्डारी ट्रेडर्सलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कास्कीसहितको संयुक्त अनुगमन टोलीले छड्के जाँचका क्रममा उक्त डिलरले ग्यास लुकाएर राखेको तथा एक सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सारिरहेको अवस्थामा फेला पारेपछि कारबाही गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार  अनुगमनका क्रममा १४.२ केजी तौलका ४८ थान ग्यास सिलिन्डर लुकाएर राखिएको भेटिएको थियो।

साथै एउटा सिलिन्डरबाट अर्को सिलिन्डरमा ग्यास सार्दै गरेको अवस्थामा तीन थान उपकरणसहित रंगेहात फेला परेको प्रशासनले जनाएको छ।

प्रशासनले उक्त डिलरमा फेला परेका १४.२ केजीका ४८ थान र ७.१ केजीका ३८ थान ग्यास सिलिन्डर उपभोक्तालाई ‘पहिले आउनेलाई पहिले सेवा’ (फस्ट कम फस्ट सर्भिस) को आधारमा बिक्री वितरण गर्न निर्देशन दिएको छ।

आगामी दिनमा ग्यासको परिमाणमा हेरफेर गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनावश्यक रूपमा भण्डारण गर्ने जस्ता उपभोक्ता हितविपरीत गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ।

संयुक्त अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय कास्की, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा उपभोक्ता मञ्चका प्रतिनिधिहरू सहभागी थिए। टोलीले पोखराका पाँच ओटा ग्यास डिलरमा छड्के अनुगमन गरेको थियो।

अनुगमन गरिएका डिलरमध्ये तीन ओटा डिलरमा ग्यासको मौज्दात तथा अनुचित भण्डारण नपाइएको प्रशासनले जनाएको छ।

यस्तै अर्को एक डिलरमा ७.१ केजीका ३२४ थान ग्यास सिलिन्डर गाडीबाट झार्दै गरेको अवस्थामा फेला परेको थियो।

कास्की प्रशासनले बजारमा ग्यासको कृत्रिम अभाव हुन नदिन तथा कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई थप तीव्र बनाउने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ