जेन-जी आन्दोलनमा मुलुकमा दुई अतिवादी सोच देखिए : गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १४ बिहिबार
787
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भदौ अन्तिम साताको जेन-जी आन्दोलनको सन्दर्भमा मुलुकमा दुई अतिवादी सोच देखापरेको टिप्पणी गरेका छन् ।
बिहीबार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै थापाले यस्तो टिप्पणी गरेका हुन्। उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र साह बालेनलाई लक्षित गर्दै जेन-जी आन्दोलनलाई स्वीकार नगर्ने र आन्दोलनको जगमा राजनीतिक स्वार्थको रोटी सेक्ने प्रवृत्ति मुलुकमा देखापरेको भन्दै दुवै अतिवादी सोच भएको टिप्पणी गरे।
यस्ता सोचले पुनः दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिँदै सभापति थापाले दुवै अतिवादी धारसँग नेपाली कांग्रेस असहमत रहेको स्पष्ट पारे।
उनले अब सरकारको गोलीबाट कुनै पनि निहत्था नागरिकले ज्यान गुमाउन नपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए ।
उनले भने, ‘यो देशमा अब सरकारको गोलीबाट कुनै निहत्थाको ज्यान जानुहुँदैन । यो देशमा अब कुनै मुकुण्डोधारीले नकाब लगाएर सिंहदरबार जलाउन पनि पाउनुहुन्न । यो अवस्था निर्माण गर्नुपर्नेछ । त्यसको लागि हामीले भाद्र २३ र २४ को घटनालाई हेर्नुपर्छ । एउटा प्रवृत्ति छ त्यसले के भन्छ भने–भाद्र २३ र २४ को घटनालाई उसले इन्कार गर्छ र भन्छ २३ गते अगाडि र २३ गते देश ठिकठाक थियो । सबले दूधभात खाएका थिए । केही पनि बिग्रेको थिएन । अर्को प्रवृत्ति छ–जसले बोल्दैन र भन्दैन । तर २३ र २४ गते बलेको आगोमा पेट्रोल थपेर आफ्नो राजनीतिको स्वार्थको रोटीमात्र सेक्छ । केवल उसले आफ्नो फाइदा मात्र हेर्छ । यो दुईटै सोच अतिवादी सोच हो । यस्तै सोचले भोलि फेरि अर्को दुर्घटना गराउँछ । नेपाली काँग्रेस यो दुवै सोचसँग सहमत छैन । भिन्न सोचका साथ उभिएको छ ।’
उनले अब कुनै पनि मुकुण्डोधारीले सिंहदरबार जलाउन नसक्ने दाबी पनि गरे।