arrow

म सधैँ म जस्तो भइरहुँ

logo
कविता गौतम,
प्रकाशित २०८२ फागुन ९ शनिबार
kabita-gautam-82-11-9.jpg

म सधैँ म जस्तो भइरहुँ ,
आफ्नै आकाशमा उडिरहुँ।
अरूको पखेटा सापटी नलिऊँ,
आफ्नै हिम्मतमा अडिरहुँ।

हावाले जति मोड्न खोजोस्,
म जरा गाडेर उभिरहुँ।
आँधीले जति झस्काउन खोजोस्,
आफ्नो विश्वास सम्हालिरहुँ।

अँध्यारो रातले घेरे पनि,
मनभित्रको दीप बालिरहुँ।
टुटेका सपनाको धुलोबाट,
फेरि नयाँ संसार बनाइरहुँ।

हार आयो भने हार नमानूँ,
गल्ती आयो भने पाठ बनाउँ।
दुःख आयो भने शक्ति बनाउँ,
आँसु आयो भने मुस्कान सजाउँ।

म सधैँ म जस्तो भइरहुँ,
सत्यलाई साथ दिइरहुँ।
भीडको आवाज ठूलो भए पनि,
मनको आवाज सुनिरहुँ।

समय ढिलो भए पनि हुन्छ,
तर परिणाम उज्यालो होस्।
मलाई हतार छैन जीवनसँग,
तर भगवान, सबैकुरा राम्रो होस् ।

कसैले बुझेन भने पनि,
म आफैंलाई बुझिरहुँ।
कसैले साथ छोडे पनि,
म आफ्नै साथमा बसिरहुँ।

म तुलना होइन, पहिचान बनुँ,
म नक्कल होइन, उदाहरण बनुँ ।
म भीड होइन, बाटो बनुँ,
म कथा होइन, इतिहास बनुँ ।

जीवनका उकालो चढिरहुँ,
ओरालोमा पनि हाँसिरहुँ।
थाकेर बस्ने दिन आए पनि,
फेरि उठेर अगाडि बढिरहुँ ।

म सधैँ म जस्तो भइरहुँ ,
सरल तर अडिग रहूँ।
स्वाभिमान कहिल्यै नबेचूँ,
सपना कहिल्यै नछोडूँ।

मनभित्रको उज्यालो बचाइरहुँ,
आशाको दियो बालिरहुँ।
आफ्नो अस्तित्वलाई माया गर्दै,
आफ्नै लयमा बाँचिरहुँ।

म सधैँ म जस्तो भइरहुँ,
स्वतन्त्र आत्मा भएर बाँचिरहुँ।
संसार बदलिए पनि बदलिउन्,
तर म आफ्नो साँचो रूपमै रहिरहुँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ