रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र विभत्स अवस्थामा मृत फेला परेकी छन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरतीदेवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन् ।
फागुन ३ गते बिहान करिब ११ः५० बजेको समयमा ४२ वर्षीय महन्थ राय यादव र उनकी श्रीमती आरतीदेवी यादव बसोबास गर्दै आएको रक्सी पसलसहितको घरबाट कोही पनि बाहिर ननिस्केपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले स्थानीय तथा जनप्रतिनिधिहरूको रोहबरमा घरको ढोका खोली हेर्दा आरती देवीको शव आफ्नै सुत्ने कोठाको काठको खाटमा उतानो अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायव उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले काटिएको गहिरो चोट देखिएको छ भने खाट नजिकै रगत लतपतिएको अवस्थामा एउटा बन्चरो समेत बरामद गरिएको छ ।
घटनापछि आरती देवीका श्रीमान महन्थ राय यादव फरार छन् । श्रीमतीको हत्या गरी श्रीमान फरार भएको हुन सक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप कानूनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जनाएको छ।