'पृथ्वीपथ' र हिन्दु राष्ट्रको एजेन्डासहित राप्रपाले गर्यो चुनावी संकल्प पत्र सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २ शनिबार
1.9k
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ। शनिबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्व अध्यक्षहरू पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रूपमा संकल्प पत्र अनावरण गरेका हुन्।
त्यस अवसरमा अध्यक्ष लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढिरहेको एक मात्र राष्ट्रवादी प्रजातान्त्रिक दल भएको दाबी गरे। उनले राप्रपा मुलुकको आन्तरिक मामिलामा कुनै पनि वैदेशिक हस्तक्षेप स्वीकार नगर्ने र वीर पुर्खाको इतिहासमा गर्व गर्दै समयसापेक्ष परिवर्तनको पक्षमा उभिएको शक्ति भएको उल्लेख गरे।
लिङ्देनले विगत साढे तीन दशकको राजनीतिक अभ्यास दल र नेताहरूको विकासका लागि मात्र भएको तर देश र जनताले केही नपाएको गुनासो गरे। उनले हाल मुलुक राजनीतिक अस्थिरता, आर्थिक सङ्कट र नीतिगत भ्रष्टाचारबाट प्रताडित भइरहेको बताए। सार्वजनिक गरिएको संकल्प पत्रमा राप्रपाले नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरेको छ।
रोचक कुरा के छ भने, यसअघिका निर्वाचनमा 'प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री' लाई मुख्य एजेन्डा बनाउँदै आएको राप्रपाले यस पटकको संकल्प पत्रमा उक्त विषयलाई समावेश गरेको छैन। पार्टीभित्र यो विषयमा दुई धार रहेका कारण उनी यसबाट पछि हटेको देखिन्छ, तर अभिभावकीय संस्थाका रूपमा राजसंस्था रहने शासकीय स्वरूपको खाकालाई भने उनले पुनः अघि सारेका छन्।
पार्टीले पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मान्दै 'पृथ्वीपथ' लाई राष्ट्र निर्माणको आधार बनाएको छ। धर्मनिरपेक्षतालाई खारेज गरी 'सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र' स्थापनालाई राप्रपाले आफ्नो अपरिहार्य एजेन्डाका रूपमा दोहोर्याएको छ। वर्तमान निर्वाचन प्रणालीलाई खर्चिलो र अस्थिर भन्दै यसमा व्यापक सुधार र परिवर्तनको माग गरे पनि राप्रपाले कार्यकारी प्रधानमन्त्रीको साटो राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई नै बढी प्राथमिकता दिएको देखिन्छ।