-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
हात समाएर जीवन पार गरौँला
हाँसो र आँसु दुवै सँगै बाँडौँला
घामको तापमा छायाँ बनेर बसौँला
अँध्यारो रातमा जूनझैँ चम्कौँला ।
समयले जति नै परीक्षा लेओस्
भाग्यले जति नै मोड फेरोस्
विश्वासको डोरी कहिल्यै नछुटोस्
मनको सम्बन्ध कहिल्यै नटुटोस्।
उकालो आयो भने साहस बनौँला
ओरालो झर्यो भने आधार बनौँला
थाकेको पलमा काख बनेर बसौँला
रिसाएको क्षणमा मिठो शब्द बनौँला ।
तिमी हाँस्दा बिहान उज्यालो बन्छ
तिमी चुप हुँदा मन सुनसान हुन्छ
तिमी साथ हुँदा संसार आफ्नै लाग्छ
तिमी बिना भविष्य नै अधुरो भास्छ ।
ऋतु फेरिएझैँ दिन फेरिए पनि
मनको माया कहिल्यै नफेरियोस्
फूल ओइलाएझैँ समय ढल्किए पनि
हाम्रो प्रेम कहिल्यै नओइलियोस् ।
भीडभाडको संसारले छुट्याउन खोजे पनि
हाम्रो आत्मा कहिल्यै नअलगियोस्
दूरीले आँखा टाढा पारिदिए पनि
मुटुको धड्कन सधैँ एउटै रहोस्
जीवनका हरेक पाना पल्टिँदै जाँदा
सम्झनाका अक्षरहरू लेखिँदै जाँदा
मेरो नामसँग तिम्रो नाम जोडिँदै रहोस्
मेरो श्वाससँग तिम्रो श्वास मिसिँदै रहोस् ।
आजको भ्यालेन्टाइन एउटा संकेत हो
जीवनभर सँगै रहने प्रतिज्ञाको शुरूआत हो
मेरो हरेक धड्कन, हरेक प्रार्थना यही
सधैं तिमी, जीवनभर तिमी
मेरो प्रेमको अन्तिम गन्तव्य पनि तिमी नै।