दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारीलाई
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २५ आइतबार
655
Shares
काठमाडौँ । मोरङको पथरीमा सम्पन्न दोस्रो पथरी शनिश्चरे भेट्रान्स गोल्डकपको उपाधि उर्लाबारी भेट्रान्सले जितेको छ। शनिबार भएको फाइनल खेलमा सतिसाले भेट्रान्सलाई २–० को गोल अन्तरले पाखा लगाउँदै उर्लाबारीले उपाधिमाथि कब्जा जमाएको हो।
उपाधिसँगै विजयी उर्लाबारी भेट्रान्सले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको सतिसाले भेट्रान्सले ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ। प्रस्तावित पथरी रङ्गशालामा भएको उक्त प्रतिस्पर्धात्मक खेलको दुवै गोल उर्लाबारीले दोस्रो हाफमा गरेको थियो।
खेलको ४२औँ मिनेटमा विकास राईले गोल गर्दै उर्लाबारीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि ७२औँ मिनेटमा मित्त बस्नेतले अर्को गोल थपेपछि उर्लाबारीको जित सुनिश्चित भएको थियो।
उत्कृष्ट प्रदर्शन गरेका विकास राई 'म्यान अफ दी म्याच' र विनोद गौतम 'गोल्डेन ग्लोभ्स' (उत्कृष्ट गोलरक्षक) घोषित भए। उनीहरूले जनही ५ हजार रुपैयाँ पुरस्कार पाएका छन्। त्यस्तै, सतिसाले भेट्रान्सका निरु लिम्बूले 'गोल्डेन बल' र जीवन लिम्बूले ७ हजार ५०० रुपैयाँसहित 'गोल्डेन बुट' प्राप्त गरे।
पथरी शनिश्चरे भेट्रान्सको आयोजनामा भएको यस प्रतियोगितामा झापा, मोरङ र सुनसरीका आठ वटा भेट्रान्स टिमहरूको सहभागिता रहेको थियो। माघ १७ गतेदेखि सुरु भएको यो खेलकुद उत्सव २४ गतेसम्म चलेको थियो।
पथरी शनिश्चरे नगरपालिका मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको प्रथम पुरस्कार मेचिकाली रेस्टुरेन्ट मलेसिया र दोस्रो पुरस्कार सञ्जीव लिङ्देनले प्रायोजन गरेका थिए। खेल समापनको अवसरमा आयोजकले सहभागी सबै टिम र सहयोगीहरूलाई धन्यवाद दिँदै आगामी वर्ष अझ भव्य रूपमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य राखेको छ।