कोइलाखानी विष्फोटमा खोटाङका दुई दाजुभाइको मृत्यु, १८ जनाले गुमाए ज्यान
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २३ शुक्रबार
663
Shares
काठमाडौँ । भारतको मेघालयस्थित उम्साङघाटमा रहेको एक कोइलाखानीमा बिहीबार भएको भयानक विष्फोटमा परी खोटाङका एकै परिवारका दुई दाजुभाइको घटनास्थलमै मृत्यु भएको छ। ज्यान गुमाउनेमा बराहपोखरी गाउँपालिका–१ सालघारीभञ्ज्याङ निवासी २७ वर्षीय पूर्णबहादुर खपाङ्गी मगर र २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर रहेका छन्।
सोही विष्फोटमा परी खोटाङकै बमबहादुर खपाङ्गी मगर, कर्णबहादुर खपाङ्गी मगर, नरबहादुर खपाङ्गी मगर र उदयपुर साउनेका ललितबहादुर मगर घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार यो दुखद घटनामा ज्यान गुमाउनेको कुल सङ्ख्या १८ पुगेको छ भने घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
कोइलाखानीमा भएको यो विष्फोटको विस्तृत विवरण आउन अझै बाँकी रहे पनि प्रारम्भिक रिपोर्टले सुरक्षा मापदण्डको अभावमा घटना भएको सङ्केत गरेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारलाई प्रतिपरिवार २ लाख भारतीय रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेका छन्। खानीभित्र अझै केही मानिसहरू फसिरहेको आशङ्का गरिएकाले उद्धार कार्यलाई तीव्रता दिइएको छ। रोजगारीका लागि भारत पुगेका नेपाली युवाहरूले यसरी ज्यान गुमाउनु परेपछि खोटाङको बराहपोखरी गाउँ शोकमा डुबेको छ।
मृतकका परिवारले शवलाई नेपाल ल्याउनका लागि आवश्यक पहल गरिदिन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्। कोइलाखानीमा काम गर्ने नेपाली कामदारहरूले अक्सर जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता रहेको र सुरक्षाको कुनै ग्यारेन्टी नहुने गरेको गुनासो यसअघि पनि आउने गरेको थियो। यो विष्फोटपछि मेघालयका कोइलाखानीहरूको सुरक्षा अवस्था र त्यहाँ कार्यरत मजदुरहरूको अधिकारका विषयमा पुनः बहस सुरु भएको छ।