आजदेखि साफ यू-१९ महिला च्याम्पियनशिप: नेपाल र भारत भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
781
Shares
तस्बिर फाइल
पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा आजदेखि १९ वर्षमुनिको (यू-१९) साफ महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता शुरू हुँदैछ। पोखरा रङ्गशालामा हुने यस प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान दिउँसो १२:०० बजे भिड्नेछन्।
घरेलु टोली नेपालले भने आजै आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ। नेपाल र भारतबीचको यो रोमाञ्चक भिडन्त दिउँसो ३:०० बजे सुरु हुनेछ।
पोखरामा पहिलोपटक आयोजना हुन लागेको यस साफ महिला फुटबलमा दक्षिण एसियाका चार देशले सहभागिता जनाएका छन्। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने यो प्रतियोगिता 'राउन्ड रोबिन लिग' प्रणालीमा सञ्चालन हुनेछ।
साफका महासचिव पुरुषोत्तम कट्टेलका अनुसार लिगमा प्रत्येक टोलीले एक-अर्कासँग एक-एक खेल खेल्नेछन्। खेलअघिको पत्रकार सम्मेलनमा चारै देशका प्रशिक्षक र कप्तानले आफ्ना युवा खेलाडीबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्दै उपाधि जित्ने दाबी गरेका छन्।
लिग चरणका खेलहरू सकिएपछि अङ्क तालिकाको शीर्ष दुई स्थानमा रहने टोलीहरूले आगामी माघ २४ गते हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
एन्फाले खेल हेर्न आउने दर्शकहरूका लागि टिकटको समेत व्यवस्था गरेको छ, जसमा सामान्य प्यारापिटतर्फ २०० रुपैयाँ र भीआईपीतर्फ ५०० रुपैयाँ मूल्य तोकिएको छ। पोखरेली फुटबल प्रेमीहरूका लागि आफ्नै आँगनमा अन्तर्राष्ट्रिय स्तरको महिला फुटबल हेर्ने यो एउटा सुनौलो अवसर हो।