सर्लाहीको विशेष भ्रमण सकेर गगन थापा फर्किए काठमाडौँ
"द्विविधामा आएको थिएँ, भरोसा बोकेर फर्किएँ", विज्ञ टोलीले सर्लाहीमा अध्ययन शुरु गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ माघ १७ शनिबार
951
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाहीको पाँचदिने विशेष भ्रमण सकेर काठमाडौँ फर्किएका छन्। आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पाँच दिन बिताउने क्रममा उनले नेता, कार्यकर्ता र स्थानीय मतदातासँग प्रत्यक्ष संवाद र भेटघाट गरेका थिए। माघ १२ गते सर्लाही पुगेका थापाले घरदैलो कार्यक्रम, छलफल र अन्तरक्रियामा निकै सक्रियता देखाए। यस भ्रमणको मुख्य उद्देश्य पार्टी सङ्गठन सुदृढीकरणका साथै स्थानीय जनताका समस्या, गुनासा र अपेक्षाहरूलाई नजिकबाट बुझ्नु रहेको उनले बताएका छन्।
सर्लाही आगमनका क्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूले उनलाई भव्य स्वागत गरेका थिए। भावी प्रधानमन्त्रीका रूपमा समेत चर्चामा रहेका थापाले सर्लाही–४ को समग्र विकास र समृद्धिका लागि आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्। सर्लाही छोड्नुअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यहाँ आउँदा केही द्विविधा भए पनि फर्किँदा जनताको ठूलो माया र भरोसा बोकेर जान लागेको भन्दै खुसी व्यक्त गरे। जनताको यो विश्वासले आफूलाई थप जिम्मेवारीको अनुभूति गराएको उनको भनाइ छ।
थापाले सर्लाहीमा तटबन्ध निर्माण, उखु किसानको बाँकी भुक्तानी, कृषिजन्य उत्पादनको बजारीकरण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्र नै मुख्य चुनौतीका रूपमा रहेको औँल्याएका छन्। उनले कृषि सम्बन्धी विज्ञको टोलीले अध्ययन सकेर फर्किसकेको र सिँचाइ सम्बन्धी टोलीले अहिले पनि जिल्लामै बसेर अध्ययन गरिरहेको जानकारी दिए। साथै, सूचना प्रविधिसम्बन्धी अर्को टोली पनि छिट्टै सर्लाही पुगेर यहाँको समस्याको अध्ययन गर्ने उनले बताए। जनकपुर विमानस्थल हुँदै काठमाडौँ फर्किनुअघि थापाले जनकपुरस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा पुगेर पार्टीका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका थिए।