निर्वाचनमा खरेल हिँडेपछि अर्याललाई प्रवक्ताको जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
964
Shares
काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई नयाँ प्रवक्ताको जिम्मेवारी सुम्पिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई यो जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि सरकारको प्रवक्ता रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिएपछि यो स्थान रिक्त थियो।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले आफूलाई प्रवक्ताको थप जिम्मेवारी दिइएको पुष्टि गरे। सञ्चारमन्त्री खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराउनुअघि नै राजीनामा दिएका थिए।
निर्वाचन आचारसंहिता र राजनीतिक नैतिकताका आधारमा मन्त्रीहरूले राजीनामा दिने क्रम बढेसँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गृहमन्त्री अर्याललाई सरकारको आधिकारिक धारणा सार्वजनिक गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको हो।
अर्यालले अब गृह मन्त्रालयको कार्यभारसँगै मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने र सरकारको प्रवक्ताको रूपमा सञ्चार माध्यमसँग समन्वय गर्ने कार्य सम्हाल्नेछन्।