कांग्रेस रूपान्तरणको प्रारम्भ: अग्निपरीक्षामा गगन थापा
प्रकाश पोख्रेल,
प्रकाशित २०८२ माघ १ बिहिबार
2.9k
Shares
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक राजनीतिमा केवल एउटा राजनीतिक दलमा मात्र सीमित छैन । यो एक ऐतिहासिक आन्दोलन, संघर्षको विरासत र लोकतान्त्रिक मूल्य–मान्यताको जीवित संस्था हो । राणा शासनविरुद्धको आन्दोलनदेखि बहुदलीय प्रजातन्त्रको स्थापना, निरंकुश राजतन्त्रको अन्त्य, सशस्त्र द्वन्द्वको शान्तिपूर्ण व्यवस्थापन हुँदै नेपालको संविधान २०७२ को निर्माणसम्म आइपुग्दा नेपाली कांग्रेसको भूमिका निर्णायक रहँदै आएको छ । यही ऐतिहासिक पृष्ठभूमिका कारण आज पनि नेपाली कांग्रेसलाई मुलुककै सबैभन्दा ठूलो र सम्भावनायुक्त लोकतान्त्रिक शक्ति मानिँदै आएको छ ।
विडम्बना के छ भने यस्तो गहिरो इतिहास र जनआधार हुँदाहुँदै पनि पछिल्ला वर्षहरूमा नेपाली राजनीति जति अस्थिर, अविश्वसनीय र दिशाहीन बनेको छ, त्यसको प्रत्यक्ष प्रभाव कांग्रेसमाथि पनि परेको छ। अझ स्पष्ट शब्दमा भन्नुपर्दा नेतृत्वको अदूरदर्शिता, निर्णय क्षमताको अभाव र आन्तरिक लोकतन्त्रप्रतिको उदासीनताले केवल पार्टीलाई मात्र होइन, समग्र मुलुककै राजनीतिको गति अवरुद्ध गरेको छ। जसका कारण भदौ २३ को जेन-जी विद्रोह भएको यथार्थता स्वीकार्नै पर्छ । त्यो विद्रोह जनतामा पलाउँदै गएको असन्तुष्टि, पुरानो नेतृत्वप्रतिको अविश्वास र नयाँ राजनीतिक संस्कृतिको खोजीको अभिव्यक्ति थियो । जेन-जीले स्पष्ट सन्देश दिएका थिए—राजनीति अब यथास्थितिमा चल्न सक्दैन, न नीति उही रहन सक्छ, न त नेतृत्व ।
यस आन्दोलनले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (माओवादीसहित) लगायतका कम्युनिस्ट शक्तिहरू र क्षेत्रीय दलहरूलाई पनि आत्मसमीक्षाको दबाबमा पारेको देखियो। उनीहरूले “रुपान्तरण” को कुरा त गरे, आत्मआलोचनाका शब्दहरू पनि प्रयोग गरे तर व्यवहारमा नेतृत्व परिवर्तन गर्न सकेनन् । परिणामतः, आज ती दलहरूमा पनि नेतृत्वप्रति जनआक्रोश झनै चुलिँदै गएको छ । परिवर्तनको भाषण र यथास्थितिको अभ्यासबीचको यो विरोधाभासले कम्युनिस्ट राजनीतिलाई गम्भीर संकटमा पुर्याएको छ ।
परम्परगत दलका नेतृत्वको कमजोरी लाई पार्टीकै असफलताको रुपमा चितृत गर्दै आफूलाई सर्वश्रेष्ठ दल स्थापित गर्ने अभियानमा रास्वपा पनि जुटेको छ । यद्यपि विवादित पात्रको नेतृत्व र चुलिँदो देवत्वकरणका कारण सो पार्टी प्रतिको विश्वासमा समेत धेरै प्रश्नहरू पैदा भएका छ्न् ।
यही पृष्ठभूमिमा नेपाली कांग्रेसभित्र पनि नीति र नेतृत्व परिवर्तनको आवश्यकता तीव्र रूपमा महसुस हुन थाल्यो । पार्टीभित्र लामो समयदेखि जम्दै आएको असन्तुष्टि, संगठनको निष्क्रियता, स्थानीय तहदेखि केन्द्रसम्मको गुटगत राजनीति र निर्णायक नेतृत्वको अभाव लुकाउने परिस्थिति थिएन ।
यही परिवेशमा पंक्तिकार स्वयंसहित केही सीमित तर सचेत कांग्रेसजनहरूले तत्कालीन समयमा निष्कर्ष निकालियो - नेपाली कांग्रेसको वास्तविक रूपान्तरणको सबैभन्दा प्रभावकारी, वैधानिक र लोकतान्त्रिक माध्यम भनेको विशेष महाधिवेशन नै हो भनेर । सामाजिक सञ्जाल, लेख–रचना, वैचारिक बहस र प्रत्यक्ष संवादमार्फत विशेष महाधिवेशनको आवश्यकता र औचित्यबारे बिउ रोपियो । फलस्वरुपः ५४ प्रतिशात महाधिवेशन प्रतिनिधिले विधानसम्मत तरिकाले विशेष महाधिवेशनको मागसहित पार्टीको केन्द्रमा निवेदन दर्ता गराएको यथार्थता स्पष्ट छ ।
तत्कालीन समयमा पार्टी विधानअनुसार नियमित महाधिवेशन समयमै सम्पन्न गर्ने दिशामा कांग्रेस नेतृत्व थिएन । नियमित महाधिवेशनलाई एक वर्ष पछाडि धकेल्ने दाउमा रहेका सभापतिले विशेष महाधिवेशनको औचित्य समाप्त गर्ने नियत स्वरुप कार्यवाहक सभापतिमार्फत हप्तौँसम्म केन्द्रीय समितिको बैठक सञ्चालन गरी नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरे । त्यसलाई सम्पन्न गर्ने स्पष्ट राजनीतिक इच्छाशक्ति थिएन ।
घोषित मितिप्रति अनिर्णित कार्यशैली, अस्पष्ट तयारी, संगठनलाई सक्रिय बनाउने कुनै ठोस पहल नहुनु लगायतका विषयले एउटा कुरा प्रमाणित गर्यो कि नियमित महाधिवेशन केवल दबाब टार्ने औपचारिक घोषणामा सीमित थियो । जब नेतृत्व स्वयं महाधिवेशनप्रति अनिच्छुक देखियो । तत्पश्चात पार्टी पंक्तिमा निराशा र अविश्वास बढ्नु स्वभाविक थियो । नियमित महाधिवेशन नहुँदै गर्दा पार्टी विधानअनुसार दर्ता भएको ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विशेष महाधिवेशनको माग आफैँमा ऐतिहासिक थियो । यो केवल संख्याको प्रश्न थिएन, यो पार्टीभित्रको बहुमतको राजनीतिक चेतनाको अभिव्यक्ति थियो ।
केन्द्रीय समितिले यस मागलाई गम्भीरपूर्वक सम्बोधन गर्नुको सट्टा लत्याउने काम गर्यो । यो निर्णयले नेपाली कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कति कमजोर अवस्थामा पुगेको छ भन्ने कुरालाई नांगो रूपमा उजागर गर्यो । विधानअनुसार आएको माग अस्वीकार हुनु भनेको केवल प्रतिनिधिहरूको अपमानमात्र थिएन, पार्टीको आत्मालाई नै चोट पुर्याउने काम थियो ।
यही जटिल घडीमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संस्थागत हैसियत प्रयोग गर्दै विशेष महाधिवेशनलाई वैधता दिनु कांग्रेसको इतिहासमा एउटा साहसी र दूरदर्शी कदमको रूपमा दर्ज भएको छ ।
केन्द्रीय नेतृत्वको उदासीनताबीच उनीहरूले विधान, प्रतिनिधिको भावना र पार्टीको भविष्यलाई प्राथमिकतामा राखे । पुस २७ गते पूरै देश गुन्जिने गरी काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन भयो । नेपाली कांग्रेसभित्र जीवित लोकतन्त्र अझै मरेको छैन भन्ने सन्देश प्रवाह भयो । देशभरिका कार्यकर्ता, समर्थक र राजनीतिक विश्लेषकहरूको नजर त्यसतर्फ केन्द्रित हुनु यसको प्रमाण हो।
यद्यपि उद्घाटन सत्रमा कांग्रेसका अधिकतर शीर्ष नेताहरू एउटै मञ्चमा नदेखिँदा पार्टी विभाजनतर्फ जाने हो कि भन्ने गम्भीर चिन्ता कायम थियो । कांग्रेस जस्तो ऐतिहासिक पार्टीका लागि यो दृश्य स्वभाविक थिएन । नेतृत्वबीचको दूरी, संवादको अभाव र विश्वासको संकटले पार्टीलाई कुन दिशामा लैजाने हो भन्ने प्रश्न उठेको थियो ।
इतिहास साक्षी छ - कांग्रेस सधै संकटबाटै पुनर्जागृत भएको पार्टी हो । यो विभाजनको बाटोभन्दा पनि आत्मशुद्धि र पुनर्निर्माणको अवसर बन्न सक्छ भन्ने आशा अझै बाँकी थियो ।
बन्द सत्रमा महामन्त्रीद्वयद्वारा प्रस्तुत साङ्गठनिक तथा राजनीतिक प्रतिवेदनले महाधिवेशन प्रतिनिधिहरूमा नयाँ उत्साह पैदा गरेको देखियो । संगठनलाई कसरी पुनर्जीवित गर्ने, पार्टीलाई नीति केन्द्रित बनाउने, युवा पुस्तालाई नेतृत्वमा कसरी ल्याउने भन्ने विषयमा प्रतिवेदनहरू स्पष्ट र व्यावहारिक देखिए ।
प्रतिनिधिहरूले पहिलोपटक आफ्ना आवाज, पीडा र आकांक्षा दस्तावेजमा प्रतिबिम्बित भएको महसुस गरे। यही कारणले “नेतृत्व परिवर्तन बिना गाउँ नफर्कने” अडान बलियो रूपमा उठ्यो। फलस्वरूप प्रतिनिधिहरूको भेलाले गगन थापको नेतृत्व मा नयाँ कार्यसमिति निर्वाचित गर्यो ।
यो कसैको व्यक्तिगत महत्वाकांक्षाको विषय थिएन, पार्टीको अस्तित्व र भविष्यको प्रश्न थियो। नेतृत्व परिवर्तन बिना नीति परिवर्तन सम्भव छैन, र नीति परिवर्तन बिना जनताको विश्वास फिर्ता ल्याउन सकिँदैन भन्ने प्रतिनिधिहरूको जोडदार माग रह्यो ।
महामन्त्रीहरू स्वयं पनि यो दबाबको केन्द्रमा परे। उनीहरूका लागि यो क्षण ऐतिहासिक जिम्मेवारीको परीक्षाको रुपमा रह्यो । या त उनीहरूले रूपान्तरणको नेतृत्व गर्छन्, या त यथास्थितिको भार बोकेर इतिहासमा सीमित हुन्छन् ।
यदि पार्टीले विशेष महाधिवेशनको भावनालाई आत्मसात् गर्दै नीति र नेतृत्व दुवैमा साहसी निर्णय गर्न सक्छ भने कांग्रेस फेरि मुलुककै सबैभन्दा लोकप्रिय र विश्वासिलो लोकतान्त्रिक शक्ति बन्न सक्छ भन्ने टड्कारो आवाज चुलियो ।
इतिहासले सधैं साहसी निर्णय गर्नेहरूलाई नै सम्झन्छ। आजको नेपाली कांग्रेसलाई पनि त्यही साहस, आत्मविश्वास र परिवर्तनको दृष्टि आवश्यक छ भन्ने बहसले तिब्रता पायो । नेपाली लोकतन्त्रको भविष्य, धेरै हदसम्म, नेपाली कांग्रेसको रुपान्तरणसँग गाँसिएको महसुस चौतर्फी चुलिदै गयो ।
नेपाली कांग्रेसको इतिहासमा केही क्षणहरू यस्ता छन् जहाँ नेतृत्व परिवर्तन भनेको केवल व्यक्ति परिवर्तन होइन त्यो राजनीतिक धार, जनअपेक्षा र राष्ट्रको भविष्यसँग गाँसिएको हुन्छ भन्ने दबाव पैदा भयो। विशेष महाधिवेशनबाट गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनु त्यही खालको ऐतिहासिक क्षणको रुपमा लिन सकिन्छ । यो केवल एक पुस्ताको नेतृत्व उदय होइन, यो कांग्रेसभित्र वर्षौंदेखि दबिँदै आएको रूपान्तरणको आकांक्षाले पाएको औपचारिक मान्यता हो ।
आज स्वभाविक रूपमा प्रश्न उठेको छ - पहिलो विशेष महाधिवेशनबाट निर्वाचित सभापति विश्वेश्वरप्रसाद कोइरालाले जसरी नेपाली कांग्रेसलाई देशकै सर्वाधिक लोकप्रिय पार्टी बनाएर आम निर्वाचनमा दुईतिहाई बहुमतसहित विजयी गराएका थिए, के गगन थापाबाट पनि त्यही अपेक्षा पूरा हुन सक्छ ? के समय, परिस्थिति र राजनीतिक संरचना त्यहीँ छ, वा फरक युगका फरक चुनौतीले फरक उत्तर खोजिरहेका छन् ?
विश्वेश्वरप्रसाद कोइराला नेपाली कांग्रेसका संस्थापक नेता मात्र थिएनन्, उनी नेपाली लोकतान्त्रिक चेतनाका शिल्पकार थिए । राणा शासन विरुद्धको संघर्ष, निर्वासन, जेल जीवन र वैचारिक स्पष्टताले उनलाई जनताको आँखामा केवल नेता होइन, आशाको प्रतीक बनाएको थियो। २०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुईतिहाई बहुमत प्राप्त गर्नु केवल संगठनात्मक सफलताको परिणाम थिएन, त्यो जनताले लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति व्यक्त गरेको विश्वासको अभिव्यक्ति थियो । बीपी कोइरालाको नेतृत्वमा कांग्रेस विचार, संगठन र जनसमर्थन तीनै तहमा मजबुत थियो। त्यो समय कांग्रेस राज्य निर्माणको अभियानको अग्रपंक्तिमा थियो ।
आज गगन थापा जुन अवस्थामा सभापति बनेका छन्, त्यो अवस्था बीपीको समयभन्दा मौलिक रूपमा फरक छ । आज नेपाल संघीय गणतन्त्रमा छ, बहुदलीय प्रतिस्पर्धा तीव्र छ, सञ्चार प्रविधिले राजनीति छिनछिनमै जनताको कठघरामा उभ्याउँदै आएको छ र जनतामा धैर्य कम हुँदै गएको छ । फरक युगमा फरक चुनौती भए पनि एउटा कुरा समान छ । कांग्रेसजनमात्र होइन आम नेपाली जनताले अझै पनि भरोसा गर्न सक्ने, स्पष्ट बोल्ने र साहसी नेतृत्व खोजिरहेका थिए ।
यही खोजको उत्तरका रूपमा गगन थापा उदाएका छ्न् । गगन थापाको राजनीतिक यात्रा कुनै सजिलै पाइएको उत्तराधिकार होइन। विद्यार्थी राजनीतिबाट सडक आन्दोलन, संसद्को रोष्ट्रम र सरकारको जिम्मेवारीसम्म आइपुग्दा उनले आलोचना र अपेक्षा दुवैसँग जुधेका छन् । उनी भाषणका कारणमात्र होइन, प्रश्न उठाउने र उत्तर दिने साहसका कारण स्थापित भएका हुन् । यही साहस र स्पष्टताले विशेष महाधिवेशनमा उनलाई सभापतिसम्म पुर्यायो। सभापति बन्नु र सभापति भएर इतिहास रचना गर्नुबीच ठूलो दूरी छ ।
आज गगन थापाबाट अपेक्षा केवल कांग्रेसलाई चुनाव जिताउने नेतृत्वको मात्र छैन। अपेक्षा कांग्रेसलाई पुनः जनतासँग जोड्ने नेतृत्वको छ । पछिल्ला वर्षहरूमा कांग्रेसले भोगेको समस्या संगठनात्मकभन्दा बढी नैतिक र वैचारिक देखिन्छ । सरकारमा हुँदा पनि स्पष्ट पहिचान नबन्नु, प्रतिपक्षमा हुँदा पनि बलियो आवाज नहुनु र आन्तरिक विवादले सार्वजनिक छवि कमजोर बनाउनु कांग्रेसको सबैभन्दा ठूलो कमजोरी बन्यो । गगन थापाको नेतृत्वमा कांग्रेसले यो कमजोरीलाई स्वीकार गर्दै सुधारको बाटो समाउन सक्यो भनेमात्र बीपीको इतिहाससँग तुलना गर्ने आधार बन्न सक्छ ।
बीपी कोइरालाको सफलताको अन्तर्य विचार थियो । उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई नेपाली समाजको यथार्थसँग जोडेर प्रस्तुत गरे । गगन थापाको चुनौती पनि यहीँ छ - के उनी आजको नेपालको यथार्थसँग मेल खाने वैचारिक प्रस्ताव दिन सक्छन् ? आजको युवा रोजगारी खोजिरहेको छ, किसान बजार खोजिरहेको छ, मध्यम वर्ग कर र मूल्यवृद्धिले थिचिएको छ, र लोकतन्त्रप्रति वितृष्णा बढ्दो छ । यी सबै समस्याको विश्वसनीय राजनीतिक उत्तर कांग्रेसबाट आउनु आवश्यक छ । यदि गगन थापाले कांग्रेसलाई नीतिगत स्पष्टतासहित यी मुद्दामा अगाडि ल्याउन सके, जनविश्वास स्वाभाविक रूपमा बढ्नेछ ।
दुईतिहाई बहुमतको अपेक्षा केवल नेतृत्वको क्षमतामा निर्भर हुँदैन। आजको राजनीतिक संरचना गठबन्धनमुखी छ। समानुपातिक प्रणाली, क्षेत्रीय दलहरूको प्रभाव र वैचारिक ध्रुवीकरणले एकल दललाई दुईतिहाई बहुमत ल्याउन अत्यन्त चुनौतीपूर्ण बनाएको छ। त्यसैले बीपीको समयजस्तै नतिजा दोहोर्याउनु व्यवहारिक रूपमा कठिन छ।
यहाँ प्रश्न परिणामको अंकगणित होइन, राजनीतिक प्रभावको गुणस्तर हो । यदि गगन थापाको नेतृत्वमा कांग्रेस सबैभन्दा ठूलो, सबैभन्दा भरोसायोग्य र स्पष्ट वैकल्पिक शक्ति बन्न सक्छ भने त्यो आफैँमा ऐतिहासिक सफलता हुनेछ ।
गगन थापाको अग्निपरीक्षा अब शुरू भएको छ। विशेष महाधिवेशनले उनलाई जनमत दिएको छ, तर त्यो जनमत स्थायी छैन । संगठन सुदृढीकरण, गुट अन्त्य, निर्णय प्रक्रियामा पारदर्शिता र नेतृत्वमा सामूहिकता कायम गर्न सकेनन् भने आजको समर्थन भोलिको असन्तोषमा बदलिन सक्छ । बीपी कोइरालाको नेतृत्वमा कांग्रेस कार्यकर्ता पार्टीका लागि गर्व गर्थे । आज गगन थापाको नेतृत्वमा पनि त्यो गर्व पुनःस्थापित गर्नु सबैभन्दा ठूलो चुनौती हो ।
जनताको अपेक्षा उच्च हुनु स्वभाविक हो तर त्यो अपेक्षा पूरा गर्न समय, धैर्य र निरन्तरता चाहिन्छ । गगन थापाले यदि तत्काल चमत्कारको राजनीति गरेनन्, तर दीर्घकालीन रूपान्तरणको बाटो समाते भने इतिहासले उनलाई न्याय गर्नेछ । बीपी कोइरालाको जस्तै दुईतिहाई बहुमत नआए पनि, बीपीकै जस्तो भरोसा, नैतिक उचाइ र वैचारिक स्पष्टता स्थापित गर्न सके भने त्यो पनि उत्तिकै ठूलो उपलब्धि हुनेछ ।
अन्ततः प्रश्न “के सम्भव छ त ?” भन्दा पनि प्रश्न “कस्तो सम्भावना सिर्जना गरिन्छ ?” भन्ने हो । गगन थापाको नेतृत्वमा नेपाली कांग्रेस पुनः जनताको पार्टी बन्न सक्छ, यदि उसले आफूलाई सुधार्ने साहस देखायो भने । इतिहास दोहोरिन्छ कि नाइ भन्ने भन्दा पनि, इतिहासबाट सिकेर नयाँ अध्याय लेखिन्छ कि लेखिँदैन भन्ने प्रश्न आज बढी सान्दर्भिक छ । गगन थापासँग त्यो अध्याय लेख्ने अवसर छ। अब निर्णय समयले गर्नेछ, तर पहिलो कलम उनी आफैँले चलाउनुपर्नेछ । (लेखक पोख्रेल राजनीतिक विश्लेषक तथा नेपाली कांग्रेस गुल्मी क्षेत्र २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस उम्मेदवारमध्ये एक हुन्)