कार्यकर्तालाई ओलीको निर्देशन - निर्वाचन जतिबेला पनि हुन सक्छ, तयार रहनुस् [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २६ शनिबार
903
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन पार्टीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । एमालेको शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको तयारी गर्न निर्देशन दिएका हुन् ।
उनले निर्वाचनको वातावरण बनि नसकेको भए पनि निर्वाचन गर्नुपर्ने बताए ।
नेताहरूलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको उल्लेख गर्दै भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको आरोप लगाए ।
उनले विभिन्न वाहानामा निर्वाचन सार्ने वातावरण भइरहेको बताउँदै फागुन २१ गते नै निर्वाचन गर्न पनि सरकारसँग आग्रह गरे ।
उनले सरकारलाई राजनीतिक सहमतिको आधारमा मात्रै निर्वाचनसम्बन्धी अन्य निर्णय गर्न सुझाव दिए ।
उनले भने, ‘अहिले पनि निर्वाचनको वातावरण बनेको छैन । अहिले पनि राजनीतिक दलका नेताहरूमाथि विभिन्न लाञ्छना लगाउने, आरोप लगाउने र फसाउने प्रयासको परित्याग गर्ने अवस्था बनिसकेको छैन। निर्वाचनको वातावरण बनेको छैन । हामीले सर्वदलीय रुपमा पनि कुराहरू अभिव्यक्ति गरेका छौँ र सरकारका प्रतिनितिहरूको बातचितमा पनि हामीले यी कुराहरू उठाइरहेका छौँ । तर अझै पनि निर्वाचनको सुनिश्चितता र निर्भय वातावरण बनेको छैन । पार्टी के कुरामा स्पष्ट छ भने ढिलो चाँडो मुलुक निर्वाचनमा त जानैपर्छ । त्यसको लागि पार्टी हमेशा तयार छ । केन्द्रीय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागि महेसा तम्तयार रहन र यसको लागि आवश्यक तयारी गर्न आह्वान गर्छ। सबै साथीहरूले ध्यान दिनुपर्छ। निर्वाचन हुन त हुन्छ, कतिबेला हुन्छ ? जतिबेला भए पनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ । फागुन २१ मा नै हुन पनि सक्छ । एउटा कुरामा हामीले भनेका छौँ र फेरि भन्छौँ । चरण चरणमा विभिन्न चरणमा गर्ने फागुन २१ मा शुरू गरेर भन्ने अनेक प्रकारका खेलहरू स्वीकार्य छैन। एकै चरणमा निर्वाचन हुनुपर्छ । जे गर्ने हो, न्युनतम राजनीतिक सहमतिको साथ निर्णय गर्नुपर्छ । अराजकता, स्वेच्छाधरी ढंगले निर्णयहरू हुन सक्छन्, यसमा हामी चनाखो हुनुपर्छ । हामीले सरकारलाई पनि सचेत गराएका छौँ, जतिबेला भए पनि हामी निर्वाचनका लागि तयारी अवस्थामा छौँ ।’
उनले समानुपातिक निर्वाचनको लागी पार्टी सर्वसहमतिले बन्दसूचीमा नाम सिफारिस गरेको जानकारी दिए।
प्रत्यक्ष निर्वाचनको नाम सिफारिस गर्दा एकल सिफारिसका नाममा तल्लो कमिटीमा केही विवाद देखिएको उल्लेख गर्दै उनले विवाद सिर्जना नगरी पार्टी निर्देशनअनुसार काम गर्न आग्रह गरे ।