राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर छुः प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २४ बिहिबार
846
Shares
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा संयोजक दाहालले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको बताए।
सोही आवश्यकताको आधारमा विभिन्न १७ ओटा साना-ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ ।
उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे ।
जेन-जी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको जिकिर पनि गरे ।
उनले भने, ‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ ओटा सानाठूला कम्युनिष्ट घटकहरुलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौँ । र यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरु यो पार्टीमा केन्द्रित हुने अवस्था बढ्दै गएको छ । खासगरी जेन-जी युवापुस्ताहरूले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिष्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ । आज पार्टीमा जोडिन आउने तपाईँ पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ । यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ । त्यस अर्थमा पनि म तपाईँहरू सबैलाई धन्यावाद भन्न चाहन्छु ।’
उनले मुलुकको वृहत्तर हितका लागि सधैँ तत्पर रहन आग्रह पनि गरे ।