'जेन-जी' शहीद परिवारलाई अनुदान, पेट्रोलमा इथानोल मिसाउन बाटो खुल्यो [भिडियो]
पराजुली उपमहालेखापरीक्षक र खड्का अनुसन्धानको एआईजीमा बढुवा,न्यौपाने व्यवस्थापन समितिमा मनोनयन, इजरायलसँग श्रम सम्झौता स्वीकृत
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २१ सोमबार
979
Shares
काठमाडौँ । सोमबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक तथा प्रशासनिक क्षेत्रमा दूरगामी महत्व राख्ने विभिन्न निर्णयहरू गरेको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकले 'जेन-जी' शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। पछिल्लो राजनीतिक आन्दोलन (जेन-जी मुभमेन्ट) का क्रममा ज्यान गुमाएका शहीदका परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न सरकारले यो सहयोग गर्न लागेको हो।
बैठकले प्रशासनिक र सुरक्षा निकायमा केही महत्वपूर्ण पदोन्नति र नियुक्तिहरू पनि गरेको छ। नेपाल लेखा परीक्षण सेवातर्फको विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गरिएको छ।
त्यस्तै, राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) पदमा अनुसन्धान निर्देशक ओमबहादुर खड्कालाई बढुवा गर्ने निर्णय भएको छ। समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरिएको छ।
कूटनीतिक र ऊर्जा क्षेत्रमा पनि मन्त्रिपरिषद्ले महत्वपूर्ण कदम चालेको छ। नेपाल सरकार र ओमान सरकारबीचको समझदारी पत्र (MoU) तथा इजरायल सरकारसँग हुने श्रम सम्झौतालाई बैठकले स्वीकृति दिएको छ।
वातावरण संरक्षण र इन्धनको लागत घटाउने उद्देश्यले 'पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश, २०८२' स्वीकृत गरिएको छ। यसका साथै 'वन तेस्रो संशोधन नियमावली, २०८२' लाई पनि मन्त्रिपरिषद्ले पारित गरेको मन्त्री खरेलले जानकारी दिए।