विश्वभर नेपालको छवि सुधार्ने परराष्ट्रमन्त्रीको संकल्प
पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले भने-'उदीयमान छिमेकीहरूसँग सकारात्मक सहकार्य हुन्छ' [भिडियो]
मुलुक चुनावमय भइसक्यो, कूटनीतिक सहयोगका लागि मन्त्रालय तयार छ
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ११ शुक्रबार
929
Shares
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले विश्वमा नेपालको छवि उच्च बनाउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्।
मुलुकको हितका लागि मन्त्री बनेको दाबी पदभार ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री शर्माले आफू व्यक्तिगत लाभका लागि नभई मुलुक र मन्त्रालयको सुधारका लागि सरकारमा सहभागी भएको स्पष्ट पारे। "हामी आएर मुलुक र मन्त्रालयको हित हुन्छ भने जिम्मेवारीबाट पन्छिनु हुँदैन भनेर म आएको हुँ," उनले भने। उनले नेपालको छविलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने विषय नै आफ्नो मुख्य प्राथमिकता रहने बताए।
छिमेकी र मित्रराष्ट्रसँगको सम्बन्ध नेपालका छिमेकी मुलुकहरू उदीयमान शक्ति भएको उल्लेख गर्दै मन्त्री शर्माले उनीहरूसँग सकारात्मक भूमिका खेल्ने र सहकार्य गर्दै अघि बढ्ने बताए। उनले मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत र रचनात्मक बनाउने विश्वास व्यक्त गरे।
निर्वाचनमा कूटनीतिक सहयोग मुलुक अहिले निर्वाचनमय भइसकेको चर्चा गर्दै उनले निर्वाचन सम्पन्न गर्न कूटनीतिक तहबाट गर्नुपर्ने सहकार्यमा जोड दिए। "अहिले मुलुक चुनावको गतिमा अघि बढिसकेको छ। चुनावका लागि मन्त्रालयले छिमेकी वा अन्य कुनै देशसँग सहकार्य गर्नुपर्ने आवश्यकता देखिएमा त्यसलाई सही तरिकाले उठान गरिनेछ," मन्त्री शर्माले भने।
नेपाली सेनाका पूर्वरथी समेत रहेका शर्माले आजै राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। उनको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।