एकै स्वर, एकै ताल: एमालेलाई नयाँ उचाइमा पुर्याउने ओलीको 'आर्मी परेड' मन्त्र [भिडियो]
टोल-टोलमा सुरक्षा समिति बनाउन ओलीको निर्देशन, एमालेमा अब 'एक व्यक्ति, एक आवाज'
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ४ शुक्रबार
754
Shares
काठमाडौँ | नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पूर्ण एकताको भावनाका साथ नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार काठमाडौँमा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो दृढता व्यक्त गरेका हुन्।
अध्यक्ष ओलीले पार्टीभित्र विगतमा केही समस्या र कमजोरी देखिएको स्वीकार गर्दै आगामी दिनमा त्यस्ता गल्ती दोहोरिन नदिने दाबी गरे। उनले पार्टीका सबै नेता तथा कार्यकर्तालाई विधान महाधिवेशनले तय गरेका वैचारिक र सङ्गठनात्मक नीतिअनुसार एकढिक्का भएर अघि बढ्न निर्देशन दिएका छन्।
पार्टीको अनुशासन र गतिशीलताका बारेमा चर्चा गर्दै उनले भने, "हाम्रो एक आवाज हुनुपर्छ। परेडमा आर्मीले मार्च गरेजस्तै हाम्रा हात र खुट्टाहरू एकै तालमा चल्नुपर्छ। एमालेका हरेक सदस्यले अब एकस्वर र एकतालका साथ अघि बढ्नुपर्नेछ।"
यसका साथै, अध्यक्ष ओलीले देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै टोल-टोलमा सुरक्षा समिति गठन गर्न समेत पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। आम जनताको सुरक्षा र हितका लागि एमालेका कार्यकर्ताहरूले ढाल बनेर काम गर्नुपर्ने उनको भनाइ थियो। पार्टीलाई वैचारिक र साङ्गठनिक रूपमा थप बलियो बनाएर लैजाने संकल्प गर्दै उनले पहिलो बैठकबाटै आक्रामक कार्यदिशाको संकेत गरेका छन्।