चिरिबाबु भन्छन् - फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ, प्रधानमन्त्री भन्छिन् - शक्ति हस्तान्तरण गर्न आतुर छु
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
695
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । ललितपुर महानगरपालिकाले आज आफ्नो १०७ औं स्थापना दिवस मनाएको छ । सो समारोहमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायतका व्यक्तित्वहरुको उपस्थित रह्यो ।
सो अवसरमा प्रधानमन्त्री कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन् ।
उनले गत भदौ २३ र २४ गतेको जेन—जी युवाहरुको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको बताउँदै सुशासन र निर्वाचन आफूहरुको मुख्य एजेण्डा भएको बताइन् ।
आउँदो फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने अर्जुनृदृष्टिका साथ अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।
उनले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गरिन् । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन एक मात्र विकल्प भनेको निर्वाचन रहेको बताइन् ।
यता ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेन–जीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् ।
उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनै पनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ गतेको निर्वाचन सम्पन्न गरेर निर्वाचित सरकारलाई हस्तान्तरण गर्नु हो । मलाई यो कुराले चिसो पसेको छ कि जेनजीले आमा भन्नुहुन्छ । तर यो पछिल्लो कालखण्डमा आएर जेनजीले अलिकति स्वर परिवर्तन गरेको छ । चुनाव हुन दिन्न भनिरहेको छ । यो भन्न पाइँदैन । चुनाव गर्नैपर्छ । जेनजीले यो चुनाव गर्न दिदैनौँ भन्ने काम गर्न हुँदैन । जेनजीहरू साना भाइबहिनीहरू छन् बुद्दि पलाएको छैन, पलाओस् । आफ्नो आमाले गर्न लागेको सफल काममा सहयोग गर्नैपर्छ ।’
उनले ललितपुर महानगरपालिकामा अहिलेसम्मको इतिहासमा नै अहिलेको जस्तो जनप्रतिनिधिहरूको मिलाप कहिलेपनि नरहेको बताए ।
जनप्रतिनिधिहरुको मिलापले नै महानगरपालिकामा प्रत्येक दिन नयाँ काम भइरहेको धारणा राखे ।
‘जनप्रतिनिधिको मिलाप कहिले पनि थिएन । जनप्रतिनिधि र कर्मचारीहरूबीचको मित्रताको जुन फ्यूजन छ त्यसको कारण महानरगपालिकाले प्रत्येक दिन नयाँ काम गर्न सफल भएको छ,’ उनले भने ।
मेयर महर्जनले ललितपुर महानगरपालिकामा भएका सबै नयाँ कामहरू अरुले पनि अनुशरण गर्न मिल्ने काम रहेको दावी गरे ।