arrow

सडकको असन्तुष्टि सदन र सरकारसम्म

नागरिक बचाउ महाअभियानका माग सम्बोधन गर्न सरकारको गृहकार्य शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २ बुधबार
nagarik-bachau-daal.jpg

काठमाडौँ। सरकारद्वारा गठित वार्ता समिति र 'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान' बीचको वार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार साँझ सम्पन्न भएको उक्त छलफल निकै फलदायी रहेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। वार्ताका क्रममा दुवै पक्षले आ-आफ्ना धारणाहरू स्पष्टसँग राखेका थिए भने आगामी दिनमा आन्तरिक गृहकार्य गर्दै संवादलाई निरन्तरता दिने र मागहरूलाई सम्बोधन गर्दै जाने प्रारम्भिक समझदारी बनेको छ।

अभियानका केन्द्रीय सचिव प्रेमदिप लिम्बुले पनि वार्तामा सकारात्मक वातावरण बनेको उल्लेख गर्दै चरणबद्ध संवादको माध्यमबाट महाअभियानले उठाएका मुद्दाहरूको समाधान खोज्न सहमति भएको बताए।

वार्तामा सरकारको तर्फबाट सञ्चारमन्त्री खरेलसहित प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना सहभागी थिए भने अभियानको तर्फबाट लिम्बुको नेतृत्वमा देवीप्रसाद सङ्ग्रौला र प्रेम थापामगरको उपस्थिति रहेको थियो। यस संवाद प्रक्रियालाई अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले सहजीकरण गरेका थिए।

मङ्गलबारको यस प्रारम्भिक वार्ताको निष्कर्षपछि अब अभियानका संयोजक दुर्गा प्रसाईँसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष वार्ता गर्ने तयारी गरिएको छ। सरकारले आगामी निर्वाचनका लागि सहज राजनीतिक वातावरण निर्माण गर्ने उद्देश्यले कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा 'उच्चस्तरीय राजनीतिक संवाद समिति' गठन गरेको थियो, जसअन्तर्गत सञ्चारमन्त्रीको संयोजकत्वमा रहेको 'आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति' ले यस महाअभियानका प्रतिनिधिहरूसँग संवाद अघि बढाएको हो। यस पहलले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक असन्तुष्टिलाई संवादमार्फत समाधान गर्ने आशा जगाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ