‘प्रतिगमनलाई क्रान्ति भन्नु बुद्धिहीनता, वर्तमान सरकार अनाधिकृत’: ओली
भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
2.3k
Shares
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटनालाई ‘प्रतिगमन’ भन्दै त्यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता भएको बताएका छन्।
शनिबार एक समारोहमा बोल्दै उनले बितेको तीन महिनाको परिवर्तनबारे बौद्धिक व्यक्तित्वहरूको विश्लेषण सुन्दा दया लाग्ने बताए। उनले भने "जे होस प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यो प्रतिगमन देशका लागि दुर्भाग्य थियो। यसलाई क्रान्ति भनेर महिमा मण्डन गर्नु बुद्धिहीनता हो। आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैँन्।"
अध्यक्ष ओलीले वर्तमान सरकारको वैधानिकतामाथि कडा प्रश्न उठाउँदै यसलाई ‘अनाधिकृत सरकार’ भएको बताए।
"सरकार त्यसलाई चलाउने अधिकार छ जसलाई जनताबाट विश्वास गरिएको हुन्छ, निर्वाचनबाट निर्वाचित हुन्छ। त्यसपछि मात्रै शासन गर्ने अधिकार हुन्छ... यहाँ त दौडिन पनि नपरिकन एकैचोटि गएर कुर्सी झ्याप्प समातेर थ्याच्च बस्या छ। यस्तो अनाधिकृत सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास हो।"
उनले आफू पुरानो हुने तर आफूभन्दा साढे तीन महिना कान्छी चुनाव नलडी प्रधानमन्त्री हुने भन्दै यो कुनै जेनजी वा परिवर्तनको सरकार नभएको तर्क गरे। अब देशको प्रतिष्ठा माथि उठाउन, संविधानलाई बाटोमा ल्याउन र जनताबाट निर्वाचित हुने सरकार बनाउनेतर्फ अगाडि बढ्ने उनको भनाइ छ।