एनपीएलमा विदेशी खेलाडीको वर्चस्व: २२ खेलमा तीन शतक, बलिङमा नेपाली अब्बल
सर्वाधिक रनमा पनि विदेशी अगाडि, नेपाली खेलाडीको शतकको प्रतीक्षा जारी
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
806
Shares
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो र हाल जारी दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् र ती तीनवटै शतक विदेशी खेलाडीले बनाएका छन्। नेपाली खेलाडीले हालसम्म शतक बनाउन सकेका छैनन्। एनपीएल को दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ।
जारी संस्करणको २१औँ खेलमा मङ्गलबार पोखरा एभेन्जर्सका एडम रोसिङ्टन (इङ्ग्ल्यान्ड) ले कर्णाली याक्सविरुद्ध ५५ बलमा शतक पूरा गरे। उनले ५८ बल खेलेर १०८ रनमा अविजित रहे। यस्तै, कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्याण्डका मार्क वाटले जारी संस्करणमा लुम्बिनी लायन्सविरुद्ध ४१ बलमा शतक बनाएका थिए, जुन एनपीएल इतिहासकै सबैभन्दा छिटो शतक हो। पहिलो संस्करणमा एकमात्र शतक अमेरिकी खेलाडी आन्द्रिज गोउस (पोखरा) को नाममा छ।
जारी प्रतियोगितामा २२ खेलाडीले २६ अर्धशतक प्रहार गरेका छन्, जसमध्ये १७ अर्धशतक विदेशी खेलाडीकै नाममा छन् भने नेपाली खेलाडीले नौ अर्धशतक बनाएका छन्। २१ खेल सकिँदासम्म सर्वाधिक रन बनाउनेको सूचीमा पनि विदेशी खेलाडी नै अगाडि छन्: पोखराका एडम रोसिङ्टन (२५३ रन) पहिलो नम्बरमा, कर्णालीका मार्क वाट (२४२ रन) दोस्रोमा, र चितवनका रवी बोपरा (२०७ रन) तेस्रोमा छन्। लुम्बिनीका कप्तान रोहितकुमार पौडेल (१७४ रन) मात्र सर्वाधिक रन बनाउनेको सूचीको पाँचौँ स्थानमा पर्न सफल नेपाली खेलाडी हुन्।
सर्वाधिक रनमा विदेशी खेलाडीको वर्चस्व रहे पनि बलिङमा भने नेपाली खेलाडी अब्बल देखिएका छन्। सुदूरपश्चिमका अभिनाश बोहरा हालसम्म पाँच खेलमा ११ विकेट लिएर शीर्ष स्थानमा छन्। विराटनगर किङ्ग्सका कप्तान सन्दीप लामिछाने पाँच खेलमा १० विकेट लिएर दोस्रो स्थानमा छन्।
विराटनगर किङ्ग्स ले जारी संस्करणमा पोखराविरुद्ध २२० रन बनाएको थियो, जुन एनपीएल इतिहासकै उच्च स्कोर हो। यो संस्करणमा सबैभन्दा कम स्कोर चितवन (काठमान्डू गोर्खाजविरुद्ध ८९ रन) ले बनाएको छ।
दोस्रो संस्करणमा आठ टोली सहभागी छन्। हालसम्म सुदूरपश्चिम रोयल्स मात्रै प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ भने कर्णाली याक्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीमा परेको छ। प्रतियोगिता मङ्सिर २७ गते सम्पन्न हुनेछ।