काठमाडौँ । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ। स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ।
नेपालभन्दा बलियो मानिएको चिनियाँ ताइपेइ फिफा वरियतामा नेपालभन्दा माथि रहेको छ; चिनियाँ ताइपेइ ४२औँ स्थानमा छ भने नेपाल ८९औँ स्थानमा रहेको छ। सन् १९७७ मा अन्तरराष्ट्रिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो। सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालको सहभागिता भने एसियन कपको समूह चरणको खेलमा मात्र सीमित बनेको देखिन्छ।
नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले चिनियाँ ताइपेइ बलियो भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्दै जित निकाल्ने विश्वास व्यक्त गरे। अघिल्लो इन्डोनेसियाविरुद्धको खेलमा फिनिसिङ कमजोर देखिए पनि आजको खेलमा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उनले भने, “हामी सुधारिएको खेल प्रदर्शन गर्दै जीतको लक्ष्यसहित मैदानमा उत्रनेछौँ। राम्रो सङ्गठनमा खेल्न सक्यौँ भने चिनियाँ ताइपेइलाई हराएर प्रतियोगिताको समापन सकारात्मक गर्नेछौँ। हामीले जित निकाल्छाँै भन्ने विश्वास छ।” प्रशिक्षक न्यौपानेले नेपाली टोली साफ च्याम्पियनसिपको तयारीमा रहेको हुँदा 'इन्जुड' खेलाडीलाई आराम दिँदै नयाँ खेलाडीलाई मौका दिइने बताए।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार रहेको बताउँदै मैदानमा शतप्रतिशत खेल्ने प्रतिबद्धता जनाइन्।
यस सिरिजअन्तर्गत मङ्सिर १० गते भएको पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोलअन्तरले पराजित भएको थियो, जबकि चिनियाँ ताइपेइले भने इन्डोनेसियामाथि ५–० गोलको जित निकालेको थियो।