रुक्मणिराज स्मारक कोषबाट श्रष्टाहरूलाई सम्मान, चालिसेलाई मरणोपरान्त पत्रकारिता पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
1k
Shares
काठमाडौँ । रूक्मणिराज शिवाकोटी स्मारक कोषले पत्रकार विजय चालिसेलाई मरणोपरान्त ‘रूक्मणिराज शिवाकोटी स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ। कोषले ज्ञानगुन साहित्य प्रतिष्ठानसँग संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा चालिसेलाई सम्मान गरेको हो।
पूर्वमन्त्री सीपी मैनाली, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गा उप्रेतीले पत्रकार चालिसेका कान्छा छोरा अशोक चालिसेलाई सम्मान गरे । वक्ताहरूले चालिसेको पत्रकारितामा समर्पण, सत्यनिष्ठा र जनपक्षीय दृष्टिकोणको उच्च प्रशंसा गरेका थिए।
कार्यक्रममा समाजसेवी रूममणिराज शिवाकोटीका परिवारजन तथा शिक्षासेवी, न्याय क्षेत्रका प्रतिनिधि, प्रतिष्ठित साहित्यकार तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। कोषका अध्यक्ष शेषराज शिवाकोटीले आफ्नो बुबाको स्मृतिमा स्थापित पुरस्कार पत्रकारिता र साहित्यिक क्षेत्रमा समर्पित व्यक्तिलाई प्रदान गर्न पाउनु कोषको गौरव भएको बताए।
यस अवसरमा अन्य विभिन्न व्यक्तिहरूलाई समेत सम्मान गरिएको थियो। साहित्यकार डाक्टर दयाराम श्रेष्ठ रुक्मणिराज शिवाकोटी स्मृति श्रष्ठा सम्मानबाट सम्मानित भए ।
त्यसैगरी पूर्व न्यायाधीश भिमेन्द्रबहादुर कार्कीलाई नारायणराज खरेल स्मृति सम्मान, डाक्टर गोविन्दराज भट्टराई तथा महेश प्रसाईंलाई ज्ञानगुण स्रष्टा सम्मान र डाक्टर मुकेश चालिसेलाई विज्ञानका कुरा स्रष्टाबाट सम्मानित गरिएको थियो। निलम प्रकाश मैनाली स्मृति शिक्षासेवाको सम्मान नारायणी मेमोरियल फाउन्डेसनलाई प्रदान गरियो।
कार्यक्रमकोमा समाजसेवी रुक्मणिराज शिवाकोटी स्मृतिग्रन्थ, निष्ठावान न्यायमूर्ति अरविन्दनाथ आचार्य दृष्टिकोण र मूल्याङ्कन, न्यायमूर्ति प्रकाश बस्ती दृष्टिकोण र मूल्याङ्कन, न्यायमूर्ति हर गोविन्दसिंह प्रधान दृष्टिकोण र मूल्याङ्कन नामक पुस्तक लोकार्पण गरिएको थियो।