पारिवारिक कथावस्तुमा आधारित 'लोकन्ती' मंसिर २६ गतेबाट प्रदर्शनमा आउँदै
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १५ सोमबार
1.1k
Shares
काठमाडौँ । नेपाली कथानक सिनेमा ‘लोकन्ती’ आगामी मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘लोकन्ती’ प्रदर्शन मिति सार्वजनिक भएसँगै सिनेमाको फस्ट लुक पोस्टर पनि सार्वजनिक गरिएको छ।
निर्देशक रञ्जित रानाले 'लोकन्ती' लाई परिवार, प्रेम, संघर्ष, शान्ति र समाजका सूक्ष्म द्वन्द्वलाई कथाको केन्द्रमा राखेर तयार पारिएको पूर्ण पारिवारिक ड्रामाको रूपमा प्रस्तुत गरेका छन्। सिनेमाका निर्माता सन्तोष न्यौपाने हुन्।
काभ्रे जिल्लाका वास्तविक र प्राकृतिक लोकेशनमा छायांकन गरिएको यस सिनेमामा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री देख्न पाइनेछ, जसले पारिवारिक प्रेमकथाभित्र लुकेका सामाजिक संवेदनाहरू उजागर गर्ने लक्ष्य राखेको छ। सिनेमामा विमला लिम्बु, दमन रुपाखेती, गोविन्द प्रभात लगायतका कलाकारहरूको पनि मुख्य भूमिका रहेको छ। विशेषगरी, कुमार न्यौपाने र विकाश अधिकारीले यसै सिनेमा मार्फत आफ्नो अभिनय यात्राको सुरुवात गरेका छन् र उनीहरू आफ्नो डेब्युलाई लिएर उत्साहित छन्।
सिनेमाको प्राविधिक पक्षमा विकास चौधरीको संगीत निर्देशन तथा रोनिश तामाङ च्याङ्बाको छायांकन रहेको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक प्रस्तुत गर्ने 'लोकन्ती' ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।