गल्ती गरेर नथाक्ने प्रचण्डले फेरि दिए नदोहोर्याउने वचन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १४ आइतबार
945
Shares
पोखरा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट पार्टी आफूहरूको आत्मसमीक्षाको परिणाम भएको बताएका छन् । आइतबार पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै विगत दुई दशकदेखि राजनीतिको सत्ता केन्द्रमा रहेका उनले यस्तो बताएका हुन् ।
उनले अहिले नेपाली कम्युनिष्ट पार्टीले गरेको एकता सभा नेताहरूको आत्मालोचना भएको समेत जिकिर गरे । विगतमा भएका कमजोरीहरूप्रति आफूहरूले आत्मसमीक्षा गरेको भन्दै अब त्यस्तो गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाए ।
यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ एकीकृत भएको नेपालको इतिहासमै पहिलो घटना भएको दाबी संयोजक दाहालको छ । अब देशमा देखिएका समस्याहरू समाधान गर्नेमा केन्द्रित हुने बताए ।
उनले भने, ‘आजको एकता सन्देश सभा मेरो दृष्टिमा यो हामीहरूको नेपाली कम्युनिष्ट पार्टीमा एकतावद्ध हुन आएका सबै नेताहरूको आत्मालोचना सभा पनि हो । तपाईंहरूको अगाडि विगतमा हाम्रो तर्फबाट भएका कमी कमजोरीहरूप्रति आत्मसमीक्षा गर्दै अब हामी त्यस्तो गर्ने छैनौँ भनेर तपाईंहरूका अगाडि संकल्प गर्न आएका हौँ । यो संकल्प सभा पनि हो । एकता गर्ने कोसिस त विगतमा पनि गरेका हौँ । यति ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरू एकैसाथ केन्द्रित भएको नेपालको इतिहासमै पहिलो घटना हो । यो आत्मसमीक्षाको परिणाम हो । रुपान्तरणको निम्ति गरिएको नयाँ संकल्पको परिणाम हो । देशमा देखिएका समस्याको समाधान गर्न फेरि एक पटक प्रतिवद्धता व्यक्त गर्दछौँ ।’
संयोजक दाहालले देशमा अहिले असाधारण परिस्थिति रहेको बताए ।