काठमाडौँ। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिम सरकारलाई बुख्याँचाको संज्ञा दिँदै लोकतन्त्र फर्काउने बाटोमा लाग्न आह्वान गरेका छन्। उनले अन्तरिम सरकारलाई अनिर्वाचित बुख्याँचाको संज्ञा दिँदै सिंहदरबार कसैले लगेर किलोमा राखिदिने बुख्याँचाका लागि नभएको र यो जनताबाट निर्वाचित सरकार बस्ने ठाउँ भएको बताएका छन्।
आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्दै अध्यक्ष ओलीले देश अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरे। उनले गलत सिफारिसमा, असंवैधानिक ढङ्गले विघटित संसद पुनःस्थापना हुनु आवश्यक रहेको बताए।
उनले आफ्नो रिस देशको सार्वभौमसत्तामाथि नपोख्न आग्रह गर्दै भने, "केपी ओलीसँग रिस उठेको होला, केपी ओलीसँग उठेको रिस संविधानमाथि लगेर, लोकतन्त्रमाथि लगेर, देशको विकास र सुशासनमाथि लगेर, देशको सार्वभौमसत्तामाथि लगेर नपोखौँ।" उनले लोकतान्त्रिक मूल्य मान्यताको हैसियत भएकाहरूको स्थल सिंहदरबार भएकोमा जोड दिए।