काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्समाथि जित हात पारेपछि लुम्बिनी लायन्सका प्रशिक्षक सुवास खकुरेलले बाँकी दुई खेलमा जित निकाल्दा प्लेअफमा पुग्ने सम्भावना देखिएकाले आफूहरू आशावादी रहेको बताएका छन्।
पोखरामाथि जितपछि प्रशिक्षक खकुरेलले बाँकी खेल जित्दा पनि गणितीय समीकरणले असर पार्ने भए पनि आफूहरू प्लेअफमा पुग्नेमा आशावादी रहेको बताएका हुन्। उनले टिम लयमा पनि रहेकाले दुई खेल जित्ने आशा गरेका छन्।
उनका अनुसार टी–ट्वान्टी क्रिकेटमा ओपनिङ साझेदारी महत्त्वपूर्ण भए पनि राम्रोसँग चल्न नसकेको र ओपनरहरूले धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता रहेको छ। खकुरेलले लुम्बिनीका मालिकले हारपछि सामाजिक सञ्जालमा पोखेको निराशालाई अन्यथा लिन नहुने उल्लेख गरे। खेलाडी र टिमलाई आवश्यक लगानी गरेपछि टिम मालिकले पनि त्यहीअनुरूप प्रतिफल खोज्नु स्वाभाविक रहेको उनले बताए। राम्रो लगानी गरे पनि प्रतिफल आउन समय लाग्ने भन्दै उनले आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले पनि १७ वर्षपछि उपाधि जितेको स्मरण गराए। उनले सन्दीप जोरा क्रिजमा रहँदा जित निकाल्छौं भन्ने आशा रहेको र यो जितले आगामी खेलमा आत्मविश्वास दिने विश्वास व्यक्त गरे।
यता, पोखरा एभेन्जर्सका जिमी निसमले आजको खेल नै नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा आफ्नो अन्तिम रहेको बताएका छन्। उनले आजको खेल निराशपूर्ण रहेको उल्लेख गरे। पहिले ब्याटिङ गर्न सहज नरहेको र १५० रनको योगफल राम्रो नै रहेको निसमको भनाइ छ। उनले सोहीअनुरूप बलिङ गर्दा जित निकाल्ने आशा भए पनि सफल नभएको बताए। उनले पोखराले आगामी खेलमा राम्रो गरे अझै पनि सम्भावना रहेको उल्लेख गरेका छन्।