नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातकः आहुति
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ८ सोमबार
3k
Shares
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव आहुतिले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका छन् ।
सोमबार काठमाडौँमा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक गर्दै उनले नेपालको भौगोलिक र सांस्कृतिक विविधतालाई संबोधन गर्न नसक्ने भएकोले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक हुने बताएका हुन् ।
महासचिव आहुतिले देशमा बारम्बार ठूलाठूला संघर्ष र बलिदानबाट बनेको राज्य सञ्चालन प्रणाली नेपाली विशेषता अनुसार नभई निश्चित वर्ग र समुदायका मानिसहरुको हितका लागि बनेको बताएका छन् ।
पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी निर्वाचितको मुद्धा जोडदार उठ्दै गर्दा आहुतिले भने, ‘नेपाल जस्तो भौगोलिक र सांस्कृतिक विविधता भएको मुलुकमा प्रत्यक्ष कार्यकारी आउँदा जेलेन्स्की जस्ताः पात्रहरू उदय हुने निश्चित छ, त्यसैले यो मान्न सकिन्न ।’
नेपालमा प्रचलित हालसम्मका सबै राजनीतिक व्यवस्था असफल भइसकेको ठहर गरी नेपाली विशेषता अनुसारको कार्यक्रम ल्याएको बताउँदै आहुतिले भने, ‘नयाँ राज्यको संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, राज्य शक्तिको बाँडफाँड र समग्र विषयको आधारभूत नीतिका बारे हामीले प्रष्ट खाका ल्याएकाछौँ ।’
वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमिक, किसान, महिला, आदिवासी-जनजातिलगायतका उत्पीडित समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाइ थियो ।
निश्चित प्रतिनिधिले सरोकारवाला आम जनसमुदायको निर्णय गर्ने भएको हुनाले यो अवस्था आएको बताउँदै उनले भने, ‘यसको समाधानको लागि सम्पूर्ण सम्पत्तिको मालिक श्रमजीवी समुदाय हुने, निजी सम्पत्तिको अन्त्य हुने र समुदाय नै उत्पादक, समुदाय नै उपभोक्ता हुने नयाँ वैज्ञानिक समाजवादी कार्यक्रम आवश्यक छ ।’
वर्तमान संघीयता पीरामिड आकारमा हुँदा निश्चित शासकहरूले मात्रै शासन गर्ने र बहुसंख्य जनता उत्पीडनको जाँतोमा पिसिने भएकाले यसको विकल्पमा समतलीय र सहमतीय व्यवस्थामार्फत सबै समुदाय राज्यको नेतृत्वमा पुग्ने व्यवस्थाको सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।