स्कटल्याण्ड् सन् १९९८ पछि पहिलो पटक छानियो विश्वकपमा
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
777
Shares
काठमाडौँ । स्कटल्याण्ड सन् १९९८ पछि पहिलो पटक विश्वकप फुटबलमा छनोट भएको छ । आज बिहान सम्पन्न छनोटको पहिलो चरणको अन्तिम खेलमा डेनमार्कमाथि ४–२ को जित निकाल्दै स्कटल्याण्ड विश्वकपमा छानिएको हो ।
समूह सीको शीर्ष स्थानमा रहेर स्कटल्याण्डले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।
२७ वर्षदेखिको विश्वकपमा छनोट हुने भोक मेटाएको स्कटल्याण्डले नाटकीय जित हासिल गर्दै महत्वपूर्ण तीन अंक बटुलेको हो ।
निर्धारित समयसम्म २–२ गोलको बराबरी भएका अवस्थामा अन्तिम इन्जुरी समयको पाँच मिनेटमा दुई गोल गर्दै स्कटल्याण्डले बाजी मार्यो ।
स्कटल्याण्डलाई जिताउन इन्जुरी समयमा किरान टिमे र केनि म्याकलिनले एक एक गोल गरे ।
त्यसअघि तेस्रो मिनेटमै स्कटल्याण्डका स्कट म्इाक टोमिनेले गोल गर्दै अग्रता दिलाए ।
५७ औँ मिनेटमा रास्मस होजलुन्डले गोल गर्दै डेनमार्कलाई बराबरीमा ल्याए ।
७८ औँ मिनेटमा स्कटल्याण्डका लरेन्स शंकल्यान्डले गोल गर्दै २–१ को अग्रता बनाए ।
८२ औँ मिनेटमा डेनमार्कका पेट्रिक डोर्गुले गोल गर्दै बराबरीमा ल्याए ।
जितसँगै स्कटल्याण्ड १३ अंकसहित शीर्ष स्थानमा रहेर विश्वकपमा छानियो । ११ अंकको डेनमार्कले अर्को चरणमा छनोट खेल्नेछ ।
७ अंकको ग्रीस र २ अंकको बेलारुस बाहिरिएका छन् । गएरातिको खेलमा ग्रीस र बेलारुसले गोलरहित बराबरी खेले ।