मुम्बई । भारतीय अभिनेता धर्मेन्द्रलाई बुधबार बिहान मुम्बईको ब्रीच क्यान्डी अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनको परिवारले अब उनको उपचार घरमै गर्ने निर्णय गरेको उनका डाक्टरले बताएका छन् ।
डा प्रतीक समदानीले समाचार एजेन्सीलाई बताएअनुसार धर्मेन्द्र विगत केही हप्तादेखि बेलाबेलामा अस्पतालमा भर्ना हुँदै घर फर्किरहेका थिए ।
उनलाई बुधबार बिहान स्थानीय समयअनुसार ७ः३० बजेतिर अस्पतालबाट डिस्चार्ज गरिएको थियो।
धर्मेन्द्र डिस्चार्ज भएपछि भीड जम्मा हुनबाट रोक्न प्रहरीले जुहूस्थित उनको घर जाने सडक बन्द गरेको छ ।
गत सोमबार धर्मेन्द्रको स्वास्थ्य बिग्रिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई सास फेर्न गाह्रो भइरहेको थियो र उनलाई भेन्टिलेटरमा राखिएको थियो।
मंगलबार बिहान भने धर्मेन्द्रको मृत्युको झुटो खबर मिडियामा फैलिएको थियो । जसले गर्दा उनकी छोरी ईशा देओल र श्रीमती हेमा मालिनीले आक्रोश व्यक्त गरेका थिए ।
ईशाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भनिन्– मिडियाले पूर्ण रूपमा झूटा समाचार फैलाइरहेको छ। बुबाको अवस्था स्थिर छ र उहाँ निको हुँदै हुनुहुन्छ। हामी सबैलाई हाम्रो परिवारको गोपनीयताको सम्मान गर्न अनुरोध गर्दछौं। बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद।
हेमा मालिनीले पनि उनको मृत्युको खबर बाहिर आएपछि आफ्नो असन्तुष्टि व्यक्त गर्दै लेखिन् – जे भइरहेको छ त्यो अक्षम्य छ। जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिने र निको हुने व्यक्तिको बारेमा कसरी झुटा समाचार फैलाउन सक्छन् ? यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ। कृपया परिवार र उनीहरूको गोपनीयताको आवश्यकताको सम्मान गर्नुहोस्।