काठमाडौँ। गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र 'जेरी अन टप' ले २०८२ सालमा सर्वाधिक कमाइ गर्ने चलचित्रको कीर्तिमान बनाएको छ।
चलचित्र विकास बोर्डअन्तर्गतको 'बक्सअफिस सिनेपा' ले सोमबार चलचित्रको व्यावसायिक तथ्याङ्क सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। बक्सअफिसका अनुसार, 'जेरी अन टप' ले गत शनिबारसम्म ११ करोड ७१ लाख ४१ हजार ४९८ रुपैयाँ (ग्रस कलेक्सन) कमाइ गरेको छ।
यसअघि, गत वैशाखमा प्रदर्शन भएको 'ऊनको स्वीटर' ले ११ करोड ४१ लाख ८८ हजार ७८० रुपैयाँ कमाइ गरी पहिलो स्थानमा रहेको थियो।
चलचित्रका निर्माता सरोज न्यौपानेले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै 'जेरी अन टप' अझै प्रदर्शनरत रहेकाले व्यावसायिक आँकडा बढ्ने निश्चित रहेको बताए। उनले भने, "सगरमाथाको विषयमा बनेको चलचित्रले घरेलुसँगै प्रवासको बजारमा दर्शकको राम्रो साथ पाउनु हामी सबैका लागि खुसीको खबर हो।"
सुयोग गुरुङले निर्देशन गरेको यस चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी, केदार घिमिरे र उषा खड्गी लगायतका कलाकारहरूको अभिनय रहेको छ।