'जेरी अन टप' ले कमायो १० करोड, अन्य चलचित्रको कमाइ यस्तो
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
1k
Shares
काठमाडौँ। नेपाली चलचित्र बजारमा पछिल्लो समय प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर 'जेरी अन टप' ले बक्स अफिसमा उत्कृष्ट कमाइ गर्दै १० करोड ५१ लाख सङ्कलन गरेको छ। चलचित्र विकास बोर्डले कात्तिक १५ गतेसम्मको सार्वजनिक गरेको रिपोर्टअनुसार 'जेरी अन टप' ले ३ लाख ३३ हजार ६ सय ५ वटा टिकट विक्री गरेर यो सफलता हासिल गरेको हो।
'जेरी अन टप' बाहेक अन्य चलचित्रहरूमध्ये 'बलिदान' ले १ लाख ७१ हजार ६३ ओटा टिकट विक्री गरी ५ करोड १० लाख भन्दा बढी कमाएको छ। यसैगरी, 'हरिबहादुरको जुत्ता' ले १ लाख ४९ हजार २३७ वटा टिकट विक्री गरेर ४ करोड ७१ लाख ३७ हजार कमाएको छ। अर्को चलचित्र 'माइतिघर' ले १ लाख ४२ हजार ७१२ ओटा टिकट विक्री गरी ४ करोड १५ लाख र 'वरिष्ठ बलराम' ले ८२ हजार ११७ ओटा टिकट विक्री गरेर २ करोड ४८ लाख कमाउन सफल भएका छन्। 'मैझारो' ले पनि ३३ हजार ९ सय ४२ टिकट विक्रीबाट १ करोडभन्दा बढी कमाइ गरेको छ।
यद्यपि, सोही अवधिमा प्रदर्शनमा आएको 'सोल्टिनी' ले भने खासै व्यापार गर्न नसकेको रिपोर्टले देखाएको छ। उक्त चलचित्रको ८ हजार ८ सय ४ ओटा टिकट विक्री भएका छन् भने समीक्षा अवधीमा यसले २८ लाख ८० हजार मात्रै कमाइ गरेको छ।