arrow

बाढीले १७ हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति, ७४ हजार टन उत्पादन घट्ने अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
dhaan-paddy-.jpg

रौतहट। गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर निम्त्याएको बाढीले जिल्लाको धानबालीमा ठूलो क्षति पुर्‍याएको आँकलन सार्वजनिक भएको छ। कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले बाढीका कारण जिल्लाभर १७ हजार ६३८ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको बताए।

बाढीले धानबालीसँगै अन्य बालीहरूमा पनि ठूलो क्षति गरेको छ, जसमा १ हजार ८०४ हेक्टरको उखुबाली, ६ सय ८५ हेक्टरको तरकारी, ४ सय ७ हेक्टरको फलफूलबाली र ५ सय हेक्टरको अन्य बाली प्रभावित भएका छन्। जिल्लाका १८ वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गर्दा राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतका क्षेत्रमा सबैभन्दा बढी क्षति पुगेको देखिएको छ।

जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकोमा यो क्षति भएको हो। बाढीका कारण रौतहटमा कुल ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ। क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकिएको र राहतका लागि पहल भइरहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए।

यसैबीच, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम छिटो उपलब्ध गराउन माग गरेका छन्। बाढीले रौतहटका करिब साढे चार सय घरपरिवार विस्थापित भएका थिए। साथै, पछिल्लोपटक भित्र्याउने बेलामा आएको वर्षाले काटेर खेतमा राखिएको धान भिजाएपछि किसान थप चिन्तित बनेका छन्। बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले वर्षाले धान डुबाएको भन्दै गुनासो गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ