काठमाडौँ। सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई नियुक्त गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जनाएअनुसार, सरकारले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेन जी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शन का क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ।
यसैगरी, सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलापको सञ्चालन नियमावली, २०८२ लाई पनि स्वीकृत गरेको छ।
अन्य निर्णयहरूमा, विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरिएको इलाम जिल्लाका प्रभावित तहहरूलाई सहयोग उपलब्ध गराउन आवश्यक पर्ने पाँच करोड ३० लाख रुपैयाँ विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए।