नागढुङ्गा सुरुङ सञ्चालनका लागि अन्तर्राष्ट्रिय टेन्डर आह्वान, १५० कर्मचारी खटाइने
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १६ आइतबार
757
Shares
काठमाडौं। नागढुङ्गा—सिस्नेखोला सुरुङ मार्ग सञ्चालन तथा मर्मतका लागि नागढुङ्गा सुरुङ निर्माण आयोजनाले आज अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरेको छ। अनुभवी तथा सक्षम सेवा प्रदायक छनोटका लागि गरिएको यस आह्वानको बोलपत्र बुझाउने अन्तिम मिति आगामी २ पुस (१७ डिसेम्बर २०२५) तोकिएको छ।
मुख्य सुरुङ मार्गको लम्बाइ २.७ किलोमिटर र आपत्कालीन सुरुङको २.६ किलोमिटर रहेको यस मार्गलाई सञ्चालन गर्न दक्ष जनशक्ति र सुरक्षा व्यवस्थापनको कमीका कारण ढिलाइ भइरहेको छ। सडक विभागको सीमित अनुभव र उपलब्ध जनशक्तिबाट सुरुङको अत्याधुनिक प्रणाली सञ्चालन तथा मर्मत कठिन हुने भएकाले विशेष तालिम प्राप्त दक्ष जनशक्तिमार्फत सञ्चालनका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्न लागिएको हो।
छनोट हुने सेवा प्रदायकले पाँच वर्षसम्म सुरुङ मार्गको सञ्चालन तथा मर्मत गर्नेछन्। यस अवधिमा विदेशी विज्ञहरूबाट नेपाली प्राविधिक र व्यवस्थापकलाई प्रविधि हस्तान्तरण हुने र भविष्यमा अन्य सुरुङ संरचनाहरू स्वदेशी जनशक्तिबाटै सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ।
सुरुङ मार्गलाई २४ सै घण्टा सञ्चालन गर्न र आपत्कालीन सेवा उपलब्ध गराउनका लागि सेवा प्रदायकले शिफ्ट प्रणालीमा कर्मचारी खटाउनेछ। यसका लागि १५० जनाको दरबन्दी प्रस्ताव गरिएको छ। कर्मचारीहरू सुरुङ सञ्चालन तथा मर्मत प्रमुखको नेतृत्वमा रहनेछन्, जसमध्ये सुरक्षा व्यवस्थापन युनिटमा सबैभन्दा बढी ६४ जना र टोल उठाउनका लागि ५४ जना कर्मचारी रहने व्यवस्था गरिएको छ। सरकारले यस सुरुङ मार्गबाट गुड्ने सवारी साधनका लागि सडक उपभोग दस्तुर (टोल) समेत तोकिसकेको छ।