माओवादीसँगको एकतामा एसका एक दर्जन नेता सामेल नहुने
'मर्जर तानाशाही बढाउने' नेतृ झाँक्रीको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १४ शुक्रबार
1.8k
Shares
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का एक दर्जनभन्दा बढी नेताहरू नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकतामा सामेल नहुने भएका छन्। आजपार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय लिने तयारी भइरहेका बेला नेतृ रामकुमारी झाँक्रीले आफूसहितका नेताहरू एकतामा सहभागी नहुने स्पष्ट पारेकी हुन्।
पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले माओवादीसँग हुन लागेको एकता वाम एकता नभई पार्टी मर्जर भएको टिप्पणी गरिन्। उनले यस्तो मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने आफ्नो बुझाइ रहेको बताइन्।
उनले वाम एकताका लागि एमाले र विप्लव समूहसहित अन्य राजनीतिक दलहरूसँग संवाद नगरिएको भन्दै केवल दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने तर्क गरिन्। नेतृ झाँक्रीले वाम आन्दोलनलाई बलियो बनाउने कुराभन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हावी भएको कारण आफूहरू पार्टी एकतामा सामेल नहुने बताएकी छिन्।
"पार्टीले बहुमतको निर्णय गरेर माओवादीसँग गए पनि एउटा ठूलो पँक्तीले आजदेखि पार्टीका थप अगाडिका कार्यक्रममा सहभागी नहुने निर्णय नै गरेका छौं," नेतृ झाँक्रीले भनिन्। उनले यो मर्जरले समस्याको समाधान नदिने र आन्तरिक लोकतन्त्र कमजोर भएर नेतृत्वमा झन् तानाशाही प्रवृत्ति हावी हुने सम्भावना रहेको बताउँदै ठूलो संख्यामा नेता कार्यकर्ताहरू यस निर्णयप्रति असन्तुष्ट रहेको पनि जिकिर गरेकी छिन्।