कांग्रेसका बहुसंख्यक केन्द्रीय सदस्य नियमित महाधिवेशनको पक्षमा, तर कहिले ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1.2k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले नियमित महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । पार्टीभित्र नियमित महाधिवेशन वा विशेष महाधिवेशनका लागि रस्साकस्सी चलिरहेका बेला पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्ने सदस्यहरूले नियमित महाधिवेशनमा जानु नै उपयुक्त हुने धारणा राखेको उनले बताएका छन् ।
केन्द्रीय सदस्यहरूले देशको राजनीतिक संकट, आगामी निर्वाचनको सुरक्षा अवस्था र पार्टी महाधिवेशनका विषयमा धारणा राखेका पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
तर नियमित महाधिवेशन कहिले भन्नेबारे उनले बताएनन् । जबकि मंसिर अन्तिममा महाधिवेशन गर्नैपर्ने हो । २०७८ मंसिरमा महाधिवेशन भएकाले चार वर्षपछि यो कार्यसमितिको नियमित समय सकिन्छ ।
त्यसैले पनि मंसिर अन्तिमपछि नियमित महाधिवेशन नै गर्नुपर्ने हो । कांग्रेसको संस्थापन पक्षले महाधिवेशनको प्रस्तावित कार्ययोजना बैठकमा पेश गर्न समेत महामन्त्री गगनकुमार थापालाई दिएको छैन ।
थापाले नियमित महाधिवेशन नगर्ने हो भने विशेष महाधिवेशन गर्न सकिने पनि बताएका छन् । जेन-जी आन्दोलनको चाहना र फागुन २१ गते कांग्रेसको प्रतिस्पर्धा देखाउन पनि महाधिवेशन जरुरी छ ।
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नियमित वा विशेष महाधिवेशन माग गरेर हस्ताक्षरसमेत कार्यवाहक सभापतिलाई बुझाइसकेका छन् ।
डा. महतका अनुसार केन्द्रीय सदस्यहरूले अगामी २१ फागुनमा तोकिएको निर्वाचनका लागि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् ।
गाउँमा शान्ति सुव्यवस्था कायम हुन नसकेको अवस्थामा निष्पक्ष, भयरहित र शान्तीपूर्ण ढंगले निर्वाचन हुनेमा आंशका रहेको उनको भनाइ छ ।
यद्यपि सरकारले निर्वाचनका लागि उचित वातावरण बनाएर चुनावका लागि सरकारलाई सघाउने धारणा समेत सदस्यहरूले राखेको प्रवक्ता महतले जानकारी दिए ।
उनले भने, ‘बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखिरहनुभएको छ । देशमा एउटा संकटको परिस्थिति छ । यो परिस्थितिभन्दा माथि कसरी उठ्ने भन्ने विषयमा चासो र चिन्ता प्रकट गरिरहनुभएको छ । त्यस्तै सरकारले प्रस्ताव गरेको निर्वाचनका सम्बन्धमा अझै पनि गाउँ गाउँमा सुरक्षाको प्रत्याभूति नभएको कारणले शान्तीपूर्ण र भयरहित ढंगले निर्वाचन गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा पनि साथीहरूले धारणा राख्नुभएको छ । निर्वाचनका लागि शान्ती सुरक्षाको प्रत्याभूत गर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्छ भन्ने कुरा साथीहरूले राख्नुभएको छ । बैठकमा संसद पुनःस्थापनाका कुराहरू पनि उठेका छन् । त्यसको सम्भावनाको बारेमा पनि साथिहरूले बोल्नुभएको छ । समग्रमा निर्वाचनको परिस्थिति बन्यो निर्वाचनमा जानुपर्छ भन्ने कुरा नै आएको छ । सँगसँगै पार्टीमा जुन महाधिवेशनको कुरा उठेको छ यसमा अधिकांश साथीहरूले नियमित महाधिवेशनमा जानुपर्ने र त्यसको लागि राष्ट्रिय निर्वाचनलाई अहिले प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभएको छ । केही साथिहरूले चुनाव अगावै अधिवेशन गर्ने कुरा पनि गर्नुभएको छ । यीनै कुराहरू भएका छन् ।’
उनले बैठकमा संसद पुनःस्थापनाको विषय समेत उठान भएको बताए । केही केन्द्रीय सदस्यहरूले संसद पुनःस्थापनाको सम्भावनाबारे समेत धारणा राखेको उनको भनाइ छ ।