एक दिवसीयमा दोस्रो अन्तर्राष्ट्रिय शतक बनाउने रोहित पहिलो खेलाडी
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
1.1k
Shares
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको दोस्रो खेलमा नेपालले अहिले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) खेलिरहेको छ।
दुबई इन्टरनेशनल क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै कप्तान रोहित पौडेलको शतकमा सबै विकेट गुमाएर २३३ रन बनायो ।
रोहितले संयमित ब्याटिङ गर्दै १३० बलमा १०९ रन बनाए । उनले ३ वर्ष ७ महिनापछि एक दिवसीयमा दोस्रो शतक बनाए । यसअघि उनले २५ मार्च २०२२ मा कीर्तिपुरमा भएको खेलमा पपुवा न्यू गिनीविरुद्ध १२६ रनको इनिङ्स खेलेका थिए ।
रोहित एक दिवसीयमा दोस्रो अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी हुन् ।
पारस खड्का, कुशल भुर्तेल, अनिलकुमार साह, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र भीम सार्कीका नाममा एक शतक रहेको छ ।
आसिफ शेखले ३५ तथा आरिफ शेखले २७ रनको योगदान दिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए । जुनैद सिद्दिकीले ३ तथा जहिद अलीले २ विकेट लिए ।
लिग–२ मा नेपालले अहिलेसम्म उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । जारी श्रृङ्खलाको पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपाललाई आजको खेलमा जित्नै पर्ने दबाब छ।
अमेरिकाले नेपालमाथि एक सय ६ रनको विशाल जित निकालेको थियो। अमेरिकाले यूएईलाई पनि चार विकेटले हराइसकेको छ।
अंक तालिका
विश्वकप लिग-२ मा १७ खेल खेलेको नेपालले १२ अङ्क जोडेको छ । समान खेल खेलेको यूएईको ६ अंक छ ।
तालिकामा नेपाल सातौँ स्थानमा छ भने यूएई आठौँ स्थानमा छ ।
२२ खेल खेलिसकेको अमेरिका ३२ अङ्कसहित तालिकाको पहिलो स्थानमा पुगेको छ । स्कटल्याण्ड २४ खेलबाट ३० अंकसहित दोस्रो स्थानमा छ ।
नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा छ । ओमान २० खेलबा६ २४ अंकसहित चौथो, क्यानाडा २४ खेलबाट २१ अंकसहित पाँचौँ तथा नामिबिया २४ खेलबाट १९ अंकसहित छैटौँ स्थानमा छ ।
पहिलो खेलको नतिजा
पहिलो खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । दुबईको मैदानमा भएको खेलमा नेपालले टस जिते पनि खेल हारेको छ ।
नेपाल १०६ रनको फराकिलो अन्तरले पराजित भएको हो । पहिले बलिङ नचलेको नेपालको ब्याटिङ त्यो भन्दा पनि खराब भएसँगै फराकिलो अन्तरले पराजित भएको हो ।
नेपालले टस जितेर पहिले बलिङ रोजेसँगै ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २६२ रन बनायो ।
अमेरिकाका लागि ओपनिङ ब्याट्सम्यान स्मित पटेलले ७५ तथा मिलिन्द कुमारले अविजित रहँदै ७० रन जोडे ।
नेपालका लागि सन्दीप लामिछानेले २ तथा सोमपाल कामी, आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।
जवाफमा नेपालले ३९.१ ओभरमात्र क्रिजमा टिकेर १५६ रन बनाउन सक्यो । दिपेन्द्र सिंह ऐरीले ४०, आसिफ शेखले ३७, भिम सार्कीले २९, आरिफ शेखले २० तथा सोमपाल कामीले ११ रन बनाए बाहेक अन्य खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।
आपसका पछिल्ला चार भिडन्तमा नेपाल एकपटकमात्र विजयी भएको नेपालको हारको श्रृंखला अब ४-१ को अन्तरमा पुगेको छ ।