काठमाडौँ । बलिउड हाँस्य अभिनेता सतीश शाहको निधन भएको छ । उनको शनिबार दिउँसो भारतीय समयअनुसार २:३० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो ।
उनी ७४ वर्षका थिए । उनको शव अस्पतालमा राखिएको उनका प्रबन्धकले बताए । अन्तिम संस्कार आइतबार गरिनेछ। उनी लामो समयदेखि मिर्गौला समस्याबाट पीडित थिए । हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।
खाना खाएपछि उनी ढले र उनको मृत्यु भएको प्रबन्धकले बताए ।
हाँस्य कलाकार जोनी लिभरले सतिश शाहको मृत्युमा शोक व्यक्त गर्दै भने कि उनी लगभग ४० वर्षदेखिका उनका साथी थिए।
सतिश मृगौला रोगबाट पीडित थिए। उनको कोलकातामा प्रत्यारोपण गरिएको थियो। उनी त्यहाँ डेढ महिना बसेका थिए र पूर्ण रूपमा निको भएर फर्किएका थिए।
शाहले टिभी कार्यक्रम साराभाई भर्सेस साराभाई र जाने भी दो यारोबाट प्रसिद्धि पाएका थिए । उनले मैं हुँ ना (२००४), कल हो ना हो (२००३), फना (२००६), र ओम शान्ति ओम (२००७) जस्ता धेरै प्रसिद्ध चलचित्रहरूमा अभिनय गरे।
२००८ मा उनले अर्चना पुरण सिंहसँगै टिभी कार्यक्रम कमेडी सर्कसमा न्यायाधीशको रूपमा काम गरे।
२०१५ मा शाहलाई फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटफीआईआई) सोसाइटीको सदस्य पनि बनाइएको थियो ।