काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काठमाडौँ उपत्यका छाड्न नपाउने भन्दै लगाइएको कथित प्रतिबन्ध र वर्तमान सरकारको कार्यशैलीलाई लिएर कडा टिप्पणी गरेका छन्।
ओलीले सरकारले आफ्नो पासपोर्ट रोक्का गर्ने प्रयास र 'काठमाडौँ भ्यालीभन्दा बाहिर जान नपाउने' भनेर 'तमासा' देखाएको भन्दै आक्रोश व्यक्त गरे। उनले आफूमाथि लगाइएको प्रतिबन्धको आशयमाथि प्रश्न उठाउँदै भने:
"सुशीला कार्कीको डरले केपी ओली भाग्छ? के सोच्या छ?"
ओलीले वर्तमान गृहमन्त्रीलाई नामसमेत थाहा नभएको उल्लेख गर्दै उनलाई सम्हालिएर अघि बढ्न सल्लाह दिए। उनले गृहमन्त्रीप्रति कटाक्ष गर्दै भने:
"गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु।"
ओलीले वर्तमान सरकार कसैले नछानेको हुनाले 'नेपालीको प्रतिनिधि नभएको' र 'संवैधानिक बाटोबाट नबनेको' आरोप पनि लगाएका छन्।