कर्णाली । एक दशक अगाडि नै निर्माण गरी संचालन भइरहेको एक हजार १५ मिटर लम्बाइको नेपालकै लामो कर्णाली (गेरुवा) पुल संचालनसँगै सो क्षेत्रका स्थानका स्थानीयहरू लाभान्वित भएका छन् ।
राजापुर नगरपालिकालगायत सो क्षेत्रका स्थानीयले वर्षौंदेखि जोखिमपूर्ण रूपमा नदी तर्न नाउ, ढुङ्गा प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यो पुल नेपालकै लामो पुल मात्र नभई निर्माण गर्दासमेत लक्ष्यभन्दा नौ महिनाअघि नै सम्पन्न गरिएको हो । २०६७ कार्तिक १६ गतेदेखि निर्माण शुरू गरिएको पुल ०७२ असार मसान्तभित्र पूरा गर्ने सम्झौता थियो । लक्ष्यभन्दा निकै तीव्र गतिमा काम सम्पन्न भई तोकिएको समयभन्दा नौ महिना अगावै ०७१ भदौ मसान्तमा पुल निर्माण सम्पन्न भएको थियो ।
एक दशक अगाडिसम्म पुलको अभावमा गर्भवती, अशक्त, बिरामीलाई जुन समस्या हुन्थ्यो अब त्यो समाप्त भएकोमा स्थानीय खुशी भएका छन् ।
सदरमुकाम गुलरियाबाट २५ किलोमिटर पश्चिममा बनेको पुलको चौडाइ ९ मिटर १० सेन्टिमिटर डबल लेनको फुटपाथसमेत छ। पुल निर्माणपछि राजापुर क्षेत्रका करिब २ लाख भन्दा बढी जनता लाभान्वित भएका छन् ।