arrow

आगामी हप्ता पुरस्कारको घोषणा

नोबेलमाथि ट्रम्पको दाबी खारेज, पर्दा पछाडिका शान्ति निर्माताले पाउने विज्ञहरूको ठहर

ट्रम्पको चाहनाविपरीत 'बिर्सिएका' शान्ति नायकहरू प्रमुख दाबेदार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १६ बिहिबार
trump-20.jpg

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी हप्ता घोषणा हुने नोबेल शान्ति पुरस्कार का लागि आफ्नो चाहना खुलेर प्रकट गरे पनि ओस्लोका विज्ञहरूले उनको सम्भावना कम रहेको बताएका छन्। उनको विभाजनकारी शैली र ‘अमेरिका फस्र्ट’ नीतिका कारण पर्दामुनि चुपचाप शान्ति स्थापना गर्ने ‘बिर्सिएका’ नायकहरूको सम्भावना बढी रहेको विज्ञहरूको भनाइ छ।

प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा अक्टोबर १०, शुक्रबार हुने तय भएको छ। यसअघि सोमबार चिकित्सा, त्यसपछि क्रमशः भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र अक्टोबर १३ मा अर्थशास्त्रका विजेताहरूको नाम सार्वजनिक गरिनेछ। यसबीच ट्रम्पको विज्ञानविरोधी नीतिबारे पनि बहस उठ्ने विज्ञहरूको अनुमान छ।

राष्ट्रपति ट्रम्पले हालै, “यदि मैले नोबेल शान्ति पुरस्कार पाइनँ भने यो संयुक्त राज्य अमेरिकाप्रति अपमान हुनेछ,” भनेर दाबी गरे पनि पुरस्कारमा अनुसन्धान गर्ने इतिहासकार ओइभिन्ड स्टेनर्सनले यो कुरा “पूर्ण रूपमा अकल्पनीय” रहेको बताएका छन्। उनका अनुसार, नोबेल शान्ति पुरस्कार बहुपक्षीय सहयोग र साझा प्रयासको मूल्यमा आधारित छ, तर ट्रम्प एकतर्फी कदम चालेर त्यस मूल्य विपरीत जाने नेताका रूपमा परिचित छन्। ट्रम्पले धेरै युद्धहरू सुल्झाएको दाबी गरे पनि स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (एसआइपिआरआई) का प्रमुख करिम हग्गग ले नोबेल समितिले ठोस सफलताको प्रमाण खोज्ने, केवल दाबीमा भर नपर्ने बताएका छन्।

यस वर्ष ३३८ जना व्यक्ति तथा संस्थाको नाम मनोनित भए पनि विज्ञहरूले पुरस्कार पर्दामुनि शान्ति स्थापना गर्ने स्थानीय मध्यस्थकर्ताहरूलाई दिइनुपर्ने बताउँदै आएका छन्। हग्गगका अनुसार, सुडान, साहेल, सोमालिया, इथियोपिया र इरिट्रियाजस्ता क्षेत्रमा द्वन्द्वका बीच जनताको जीवन जोखिममा पारेर सहयोग गर्ने स्वयंसेवकहरू वास्तविक शान्ति नायक हुन्।

त्यस्तै, गाजामा पत्रकारहरूको बढ्दो मृत्युबीच पत्रकारहरूको सुरक्षा समिति वा रिपोर्टर्स विदाउट बोर्डर्स जस्ता संस्थाहरू र क्रेमलिनका आलोचक अलेक्सी नाभाल्नीकी विधवा युलिया नाभाल्नाया पनि बलिया उम्मेदवारका रूपमा देखिएका छन्।

नोबेल साहित्य पुरस्कार अक्टोबर ९ मा घोषणा हुनेछ। यसपटक स्विट्जरल्यान्डका चर्चित लेखक क्रिश्चियन क्राक्ट बलिया दाबेदार मानिएका छन्। गत वर्ष दक्षिण कोरियाकी हान काङ्गलाई पुरस्कृत गरिएको थियो भने यस वर्ष जर्मन, फ्रान्सेली वा एङ्ग्लो–स्याक्सन भाषी लेखकमा पुरस्कार जाने अनुमान गरिएको छ।

नोबेल सिजन सोमबार सुरु हुने चिकित्सा पुरस्कार बाट अक्टोबर १३ मा अर्थशास्त्र पुरस्कारसम्म जारी रहनेछ। यसपटक प्रतिरक्षा प्रणाली, क्यान्सर स्टेम सेल र भोक नियन्त्रणसम्बन्धी अनुसन्धानले सम्मान पाउने सम्भावना रहेको विज्ञहरूको भनाइ छ।

नोबेल पुरस्कार विजेताहरूलाई डिप्लोमा, स्वर्णपदक र करिब १२ लाख अमेरिकी डलर सहित सम्मान गरिन्छ। विज्ञहरूका अनुसार, यो पुरस्कार केवल व्यक्तिगत गौरव मात्र नभई विश्व शान्ति र विज्ञानलाई प्रेरित गर्ने महान् प्रतीक हो। ट्रम्पले पुरस्कारको चाहना प्रकट गरे पनि विज्ञहरूको दृष्टिमा पर्दामुनि कार्यरत ‘बिर्सिएका शान्ति नायकहरू’ नै यस वर्षको प्रमुख दाबेदार देखिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ