काठमाडौँ। अविरल वर्षा र त्यसपछिको बाढीपहिरोका कारण आज पनि देशका विभिन्न छ ठाउँमा राजमार्ग बन्द रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार, बिहान ९ बजेसम्मको विवरणमा सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लामा सडक अवरुद्ध भएका छन्।
सङ्खुवासभामा अविरल वर्षाका कारण दुई स्थानमा कोशी राजमार्ग अवरुद्ध छ। भोटखोला गाउँपालिका–४ बरुणमा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ भने मकालु गाउँपालिका–३ एकुवामा पनि कोशी राजमार्ग अवरुद्ध छ, जुन सडक लामो समयदेखि बन्द रहेको प्रहरीले बताएको छ।
रसुवामा बाढी र पहिरो दुवैले सडक अवरुद्ध पारेको छ। गोसाइँकुण्ड नगरपालिका–२ मा बाढीका कारण अवरुद्ध सडक खुल्न नसक्दा नेपाल–चीन जोड्ने नाका सञ्चालनमा आउन सकिरहेको छैन। आजै रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ तातोपानीमा पहिरोले पासाङल्हामु सडकखण्ड अवरुद्ध भएको छ र पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकमा पनि अरनिको राजमार्ग दुई स्थानमा बन्द छ। सुनकोशी गाउँपालिका–७ एककिलोमा आइतबारदेखि परेको वर्षासँगै आएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ भने भोटेकोशी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैबीच, पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरो भने पन्छाएर आज बिहानदेखि सडक सञ्चालनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक घिमिरेले जानकारी दिए।