नेपाल एयरलाइन्सले शुरु गर्यो चीनको ग्वाञ्जाओमा सिधा उडान
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १२ आइतबार
786
Shares
काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको ग्वाञ्जाओ गन्तव्यमा सिधा उडान सुरु गरेको छ। निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालनमा ल्याएको हो।
निगमले असोज ९ गतेदेखि उडान सुरु गर्ने योजना बनाएको भए पनि केही प्राविधिक कमजोरीका कारण उद्घाटन उडान शनिबार दिउँसो मात्र भएको थियो। असोज ९ गते विमानस्थल पुगेका यात्रुहरूका लागि उडान रद्द भएपछि निगमले उनीहरूको व्यवस्थापन गरेको थियो।
निगमका प्रवक्ता मनोजकुमार साहका अनुसार शनिबार दिउँसो ग्वाञ्जाओ उडेको विमान आइतबार १०७ यात्रु लिएर काठमाडौँ फर्किएको छ। निगमले अब ग्वाञ्जाओमा हरेक हप्ता तीनवटा नियमित उडान गर्ने तालिका तय गरेको छ, जुन प्रत्येक आइतबार, मङ्गलबार र शनिबार हुनेछ।
काठमाडौँबाट ग्वाञ्जाओसम्मको एकतर्फी भाडादर रु ३० हजार र दोहोरो टिकट रु ५० हजार तोकिएको निगमले जनाएको छ। नेपालीहरूको बाहुल्यता रहेको यो रूटको उडानले निगमलाई आर्थिक रूपमा लाभ पुग्ने अनुमान गरिएको छ। हाल यो रूटमा चाइना साउदर्न र हिमालय एयरलाइन्सले पनि उडान भर्दै आएका छन्।
ग्वाञ्जाओ उडानसँगै नेपाल वायु सेवा निगमको अन्तर्राष्ट्रिय उडान हुने गन्तव्यहरूको सङ्ख्या नौ देशका ११ स्थान मा पुगेको छ। निगमले हाल रहेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजमार्फत कतारको दोहा, मलेसियाको क्वालालम्पुर, संयुक्त अरब इमिरेट्सको दुवई, हङकङ, भारतका दिल्ली, मुम्बई र बैङ्गलोर, थाइल्याण्डको बैंकक, साउदी अरबको दमाम र जापानको नारितामा अन्तरराष्ट्रिय उडान भइरहेको जनाएको छ।