नारायणगढ–मुग्लिन सडकखण्डमा १०५ घण्टापछि यातायात सहज
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १० शुक्रबार
1k
Shares
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा गएको पहिरोका कारण एक सातामा पटकपटक गरी अवरुद्ध भएको यातायात १०५ घण्टापछि गएरातिदेखि सहज रूपमा सञ्चालन भइरहेको छ।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाएपछि बिहीबार राति ११ः३५ बजेदेखि तुइन खोलामा दुईतर्फी सडक आवागमन खुला भएको हो।
प्रमुख लामिछानेले तत्काल ठूलो पहिरो झर्ने खालको अवस्था नरहेको र नाम्सीमा दुई दिनअघि अड्किएका ढुङ्गाहरू पनि खसिसकेकाले पहिरोको जोखिम घटेको बताएका छन्। उनले भने, "हाल सडक सुरक्षित देखिन्छ। सानातिना पहिरो खस्दा सहजै सफा गर्न सकिने अवस्था छ।"
यद्यपि, उनले पूर्ण रूपमा भर गर्न सक्ने अवस्था नरहेको भन्दै यात्रुहरूलाई सावधानीपूर्वक आवतजावत गर्न आग्रह गरेका छन्। यस सडकखण्डमा पानी पर्दा हिलो र घाम लाग्दा सुक्खा पहिरो खस्ने गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राति नै रोकिएका सबै सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जानकारी दिए। उनले निकै मेहनतका साथ काम गरेकाले ठूलो पहिरो भए पनि सोचेभन्दा छिटो काम सकिएको बताएका छन्। हाल चितवन हुँदै आवतजावत गर्ने यात्रुका लागि सबै सडक सञ्चालनमा रहेको उनले जानकारी दिए।