बाढीपहिरोका कारण पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ९ बिहिबार
947
Shares
काठमाडौं। मुलुकका विभिन्न ठाउँमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका पाँच प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले दिएको जानकारीअनुसार ती सडकहरूमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
कोशी राजमार्ग सङ्खुवासभाको भोटखोला गाउँपालिका-४, वरुण र मकालु गाउँपालिका-३, एकुवामा अवरुद्ध छ। त्यसैगरी, रसुवाको पासाङल्हामु राजमार्ग अन्तर्गत गोसाइँकुण्ड गाउँपालिका-२ मा रहेको नेपाल-चीन जोड्ने मितेरी पुल नजिकैको खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ। यस्तै, धेरै व्यस्त रहने मुग्लिन-नारायणघाट सडकखण्ड चितवनको इच्छाकामना गाउँपालिका-५ मा पहिरोका कारण अवरुद्ध छ भने मध्यपहाडी लोकमार्ग को रुकुम पूर्व, भूमे गाउँपालिका-४ स्थित खण्ड पनि बन्द भएको छ।
प्रवक्ता घिमिरेका अनुसार, अन्य तीन महत्त्वपूर्ण सडकहरू जस्तै नवलपरासी पूर्वस्थित पूर्व-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, र रसुवास्थित त्रिशुली-मैलुङ सडक भने एकतर्फी रूपमा सञ्चालनमा रहेका छन्। सडक खुलाउनका लागि काम भइरहेको प्रहरीले जनाएको छ।