नारायणगढ-मुग्लिन सडकको पहिरो पन्छाउन दुई दिन लाग्ने
वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
847
Shares
चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको ठूलो पहिरो पन्छाउन करिब दुई दिन लाग्ने भएको छ। मंगलबार दिउँसो ४:३० बजे खसेको पहिरो आज बिहानदेखि पन्छाउन सुरु गरिएको छ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार, पहिरो हटाउन दुई लोडर, एक स्काभेटर र एक भ्याकुलोडर प्रयोग गरिएको छ। पहिरोले करिब १६० मिटर सडक ढाकेको छ र माथिबाट अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको लामिछानेले बताए।
गत शुक्रबारदेखि सो क्षेत्रमा निरन्तर पहिरो खसिरहेको छ। ठूलो पहिरोका कारण मंगलबार साँझदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएपछि हजारौं सवारी साधन लामबद्ध भएका छन्। यात्रुबाहक सवारी साधन वैकल्पिक बाटोतर्फ लागे पनि मालवाहक सवारी साधनहरू सडकमै रोकिएका छन्।
डिभिजन सडक कार्यालय चितवनले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु पुग्न सक्नेछन्। त्यसैगरी, काठमाडौँतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडाबाट ललितपुरको सातदोबाटो निस्किन सकिनेछ।
अन्य विकल्पका रूपमा त्रिभुवन राजपथ हुँदै नौबिसेबाट हेटौँडा निस्कने वा कालीगण्डकी कोरिडोर प्रयोग गरी गैंडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिनेछ। पोखरा जानका लागि ठूला र साना दुवै सवारी साधनका लागि बुटवल हुँदै पोखरा जान सकिनेछ।