काठमाडौं। ह्वाइट हाउसले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गर्न गरेको अनुरोध अस्वीकार गरेको छ। मदुरोले दुई देशबीचको तनाव कम गर्नका लागि संवादको प्रस्ताव राखेका थिए।
यसअघि, ट्रम्पले दक्षिणी क्यारिबियन क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि आठवटा युद्धपोत र एउटा पनडुब्बी तैनाथ गरेका थिए। यसलाई भेनेजुएलाले सम्भावित सैन्य आक्रमणको संकेतको रूपमा लिएको छ। हालै अमेरिकी सेनाले तीनवटा शंकास्पद लागुऔषध डुङ्गा नष्ट गरेको थियो, जसमा दर्जनभन्दा बढी मानिसको मृत्यु भएको थियो।
भेनेजुएला सरकारले आइतबार मदुरोले ट्रम्पलाई पठाएको पत्र सार्वजनिक गरेको थियो। पत्रमा मदुरोले आफूमाथि लागेका लागुऔषध कारोबारको आरोप ‘पूर्णतया झुटो’ भएको दाबी गर्दै ट्रम्पलाई शान्ति कायम राख्न आग्रह गरेका थिए।
तर, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले उक्त पत्रमा ‘धेरै झुटहरू’ भएको बताएकी छन्। उनले अमेरिकाको नीतिमा कुनै परिवर्तन नआएको र मदुरोको शासनलाई अझै पनि ‘अवैध’ मानिएको स्पष्ट पारेकी छन्।
भेनेजुएलाका रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले अमेरिकाले ‘अघोषित युद्ध’ चलाएको आरोप लगाउँदै लागुऔषध डुङ्गामा सवार मानिसलाई ‘रक्षाको अधिकार बिना नै मृत्युदण्ड दिइएको’ दाबी गरेका छन्।
अमेरिकी सैन्य तैनाथीलाई लिएर भेनेजुएलाका विपक्षी नेताहरूबीच पनि मतभेद देखिएको छ। निर्वासित विपक्षी नेता एडमन्डो गोन्जालेज उरुटिया र विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी कदमलाई स्वागत गर्दै यसलाई ‘आपराधिक संरचना ध्वस्त पार्न आवश्यक’ बताएका छन्।
तर, अर्का विपक्षी व्यक्तित्व हेनरिक क्याप्रिल्सले भने अमेरिकी हस्तक्षेपको विरोध गरेका छन्। उनले ‘समाधान सैन्य नभएर राजनीतिक’ भएको बताउँदै ट्रम्पका कदमहरूले उल्टै सत्तामा रहेकाहरूलाई बल पुर्याउने चेतावनी दिएका छन्।
गत वर्ष मदुरोको विवादास्पद पुनःनिर्वाचनपछि भेनेजुएलामा हिंसात्मक प्रदर्शन भएका थिए। विपक्षीहरूले गोन्जालेज उरुटियाले वास्तविक रूपमा जितेको दाबी गरेका छन्। गिरफ्तारीको डरले गोन्जालेज उरुटिया हाल स्पेनमा छन् भने मचाडो भेनेजुएलामै लुकेर बसिरहेकी छन्।